टिकटक मार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्न कन्टेन्ट क्रिएटरहरू पोखरा, चितवन र बर्दियामा

-


     क्लिक गण्डकी     
     कार्तिक १६ गते २०८३ मा प्रकाशित


टिकटक मार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्न सात देशका ट्राभल कन्टेन्ट क्रिएटरहरू पोखरा, चितव र बर्दियामा

टिकटक मार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्न सात देशका ट्राभल कन्टेन्ट क्रिएटरहरू पोखरा, चितव र बर्दियामा

पोखरा, १५ कात्तिक/ नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्म टिकटक मार्फत् प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न ७ देशका ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन् ।

नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, बंगलादेश र श्रीलंकाका कन्टेन्ट क्रिएटरहरू नेपाल आएका हुन् ।

उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि तथा पर्यटनका विविध अनुभव समेटिएका श्रव्यदृश्य सामग्री तयार गरी विश्वभरका दर्शकमाझ पु¥याउने छन् ।

कार्यक्रमअन्तर्गत कन्टेन्ट क्रिएटरहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गरी त्यहाँका आकर्षण, स्थानीय जीवनशैली, संस्कृति, प्रकृति र पर्यटन गतिविधिसम्बन्धी सामग्री उत्पादन गर्ने नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले जानकारी दिए ।

फ्लाई दुबईको उडानमार्फत सिधै पोखरा आइपुगेका विदेशी कन्टेन्ट क्रिएटरहरूलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेल, वरिष्ठ प्रबन्धक सूर्य थपलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल, महासचिव मिलन तिवारी, कोषाध्यक्ष कृष्ण आचार्य तथा नाट्टा गण्डकीका अध्यक्ष संगीता पौडेललगायतले स्वागत गरे ।

अन्य सामग्री निर्मातालाई भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्मासहितको टोलीले स्वागत गरेको थियो ।

पोखरामा चर्चित टिकटक कन्टेन्ट क्रिएटरहरू संयुक्त अरब इमिरेट्स र ट्युनिसियाका तीन जना फ्लाई दुबईको उडानबाट सिधै पोखरा आएका थिए । पोखरामा पाएको आत्मीय स्वागतले आफूहरू निकै खुसी भएको उनीहरूले बताएका छन् ।

नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०२५ अगस्ट १९ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही सहकार्यअन्तर्गत सुरु गरिएको ‘लाइफटाइम एक्सपिरियन्स’ अभियानले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई टिकटकका छोटा श्रव्यदृश्य सामग्रीमार्फत विश्वभर पु¥याउने लक्ष्य राखेको छ ।

यस अभियानअन्तर्गत विदेशी सामग्री निर्माताहरूले पोखरा, चितवन र बर्दियाका पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछन् । उनीहरूले टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत तयार पारिएका सामग्री विश्वभरका दर्शकमाझ पु¥याउनेछन् । यसबाट नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए ।

भ्रमणका क्रममा बंगलादेशका अनिवार्न कासेर र श्रीलंकाका कसुन सम्पथ देगोडा मागागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा संयुक्त अरब इमिरेट्सका मोहम्मद नाबिलले पोखराका पर्यटकीय आकर्षणलाई प्राथमिकतामा राखेर सामग्री निर्माण गर्नेछन् ।

त्यसैगरी, फ्रान्सका जेरेमी ब्युदेटले चितवन पुगेर वन्यजन्तु, निकुञ्ज, थारू संस्कृति र प्रकृतिमा आधारित पर्यटन अनुभव समेट्नेछन् । पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्यु लिले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु तथा समुदायमा आधारित पर्यटनका सम्भावनालाई विश्वसामु प्रस्तुत गर्नेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले नेपालको पर्यटन प्रवद्र्धनमा डिजिटल माध्यमको प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए छन् । डिजिटल माध्यमबाट विश्वव्यापी दर्शकमाझ नेपालको पर्यटन चिनाउने यो अभियानले पर्यटन क्षेत्रलाई थप अन्तर्राष्ट्रिय पहुँच दिलाउने उनको अपेक्षा छ ।