
‘टीका, जमरा र चङ्गा चेटः पोखरामा पर्यटकसँग दशैँ भेट’
पोखरा, ९ असोज/ पोखरामा दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। महिला पर्यटन व्यवसायी मञ्चको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा महोत्सव हुन लागेको हो । ‘टीका, जमरा र चङ्गा चेटः पोखरामा पर्यटकसँग दशैँ भेट’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सव कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन हुने छ ।
पोखरा–६ लेकसाइडस्थित बाराहीघाट मैदानमा हुने महोत्सवमा सांस्कृतिक विविधता, स्थानीय जीवनशैली, मौलिक खाना, कला, परम्परागत पिङ लगाएतका कार्यक्रमको आयोजना हुने शुक्रबार पोखरा आयोजीत कार्यक्रममा महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष ममता न्यौपानेले जानकारी दिइन् ।
उनले दशैंको टिका र जमारा विदेशी पर्यटकलाई लगाएर नेपाली परम्परा बारे जानकारी दिने बताइन् । दशैँ पर्वलाई पर्यटनसँग जोड्दै विदेशी तथा स्वदेशी पर्यटकलाई नेपाली मौलिक संस्कृतिको प्रत्यक्ष अनुभव गराउने उनको भनाई छ ।
महोत्सव सम्पन्न गर्न महिला पर्यटन व्यवसायी मञ्चकी निवर्तमान अध्यक्ष उमा भण्डारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। कोजाग्रत पूर्णिमाका दिन बिहान १०ः३० बजेदेखि खहरेचोकदेखि बाराहीघाटसम्म सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन झाकी सहित ¥याली आयोजना गर्ने संयोजक भण्डारीले बताइन् ।
त्यसै गरी चङ्गा चेट प्रतियोगिता, चङरेली पिङ, रोटे पिङ, घुमाउने पिङ, विभिन्न जातजाति तथा समुदायका मौलिक सांस्कृतिक प्रस्तुति रहने छन् । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दशैंको नेपालीको महान चार्ड भएकोर यसको परम्परा विदेशी पर्यटकलाई जानकारी दिदा नेपाली परम्परा विदेश सम्म पुग्ने बताए । यसले पर्यटकलाई मनोरञ्नजनका साथ संस्कृतका बारेमा जानकारी हुने बताए ।







