पोखरामा कफी कपिङ च्याम्पियनसीप हुँदै

-


     क्लिक गण्डकी     
     असार १९ गते २०८३ मा प्रकाशित


पोखरामा कफी कपिङ च्याम्पियनसीप हुँदै

पोखरामा कफी कपिङ च्याम्पियनसीप हुँदै

पोखरा, १९ असार/ पोखरामा शनिबार राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसीप हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय, पोखराले नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी संघ सहकार्यमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय परिसरमा च्याम्पियनसिप गर्न लागेको हो ।

‘चिनौँ, चाखौँ, अपनाऔँ, प्रवद्र्धन गरौँ’ भन्ने मूलनारासहित आयोजना हुने सो कार्यक्रमको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने बाडैका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले जानकारी दिए ।

पुरीले देशभरका कफी उत्पादक किसानदेखि व्यवसायीसम्म सहभागी हुने उनले बताए । ‘कफी उत्पादन हुने करिब २० जिल्लाका कफी उत्पादक, प्रशोधनकर्ता, व्यवसायी तथा प्रतियोगी सहभागी हुनेछन्,’ उनले भने, ‘कोशी, वागमती, लुम्बिनी र गण्डकी प्रदेशसहित इलामदेखि गुल्मीसम्मका कफी उत्पादक किसानदेखि व्यवसायीसम्म सहभागी हुनेछन् ।’

मुख्य आकर्षण राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप हुने उनको भनाइ छ । देशभरका कफीहरुको स्वाद र गुणस्तरसहित समग्रता आधारमा मूल्याङ्कन गरी विजेता घोषणा गरिने छ । कफी कपिङ च्याम्पियनसीपमा देशभरका किसानले भाग लिनेछन् । हालसम्म २० जिल्लाका ३२ किसानले नाम टिपाइसकेका छन् । प्रथमले १० हजार, दोस्रोले ७ हजार ५ सय र तृतीयले ५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गर्नेछन् ।

त्यसबाहेक कफी नर्सरी र बगैँचा अवलोकन, उत्कृष्ट नेपाली कफीको निःशुल्क सार्वजनिक कपिङ, कफी बार तथा उपकरण प्रदर्शनी, निःशुल्क कफी स्वाद परीक्षण, कफी प्रशोधन तथा पहिचान प्रतियोगिता, बीउदेखि कपसम्मको सम्पूर्ण कफी मूल्य शृङ्खलाको प्रदर्शनी, कफी मेसिन प्रदर्शनीलगायत कार्यक्रम रहनेछन् । कार्यक्रममा कफीको उत्पादन चुनौतिदेखि गुणस्तर सुधारसम्बन्धी प्यानल डिस्कसनसमेत हुनेछ । कफी विज्ञबाट प्राविधिक परामर्श तथा कफीसम्बन्धी मनोरञ्जनात्मक गतिविधि पनि हुनेछ ।

कार्यक्रमले नेपाली कफीको विशिष्ट स्वाद, गुणस्तर र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ । चिया उत्पादनमा अग्रणी स्थान रहेको नेपाल पछिल्ला वर्षमा कफीतर्फ पनि अगाडि बढेको छ । मूल्य उच्च हुँदै जानु र उत्पादित कफीले सहज रुपमा बजार पाउन थालेपछि कफी उत्पादनमा नेपाली युवाको आकर्षण बढेको हो । नेपालमा आव २०८१÷८२ मा ५५०१ हेक्टरमा कफी लगाउँदा ६४२ मेट्रिक टन कफी उत्पादन भएको थियो ।

पोखरामा मात्रै १ हजार ५ सय बढी कफी सप सञ्चालनमा आएको र ती सपमा कफीपारखीको संख्या अत्याधिक हुने गरेको छ । पुरीले नेपालमा उत्पादित कफीको माग विदेशमा बढी हुने गरेको जानकारी दिए । उनका अनुसार प्रतिकेजी ७ सय रुपैयाँ पर्ने कफी विदेशमा २ हजार १ सय रुपैयाँमा बिक्री हुने गरेको छ । नेपालबाट वार्षिक ६४ मेट्रिक टन कफी निर्यात हुने गरेको उनले बताउ । यो कुल उत्पादनको १० प्रतिशत हिस्सा हो ।

नेपालबाट जर्मनी, जापान, स्वीट्जरल्याण्ड, दक्षिण कोरिया, यूके, अष्ट्रेलियालगायतमा कफी निर्यात हुने गरेको पाइन्छ । कफीको मूल्य स्वाद र गुणस्तरअनुसार मूल्य निर्धारण हुने पुरीले बताए । नेपालका सबै कफीले गुणस्तरमा ८० भन्दा बढी अंकभार प्राप्त गरेको उनले बताए । कफी सहकारी संघ, ललितपुरले ८६.२५ कपिङ स्कोर प्राप्त गरेको छ भने यसले जर्मनीमा कफी निर्यात गर्दै आएको छ । कफीको गुणस्तरमा गण्डकी पनि अब्बल छ ।

‘यहाँको हावापानी राम्रो छ,’ उनले भने, ‘उच्च पहाडी क्षेत्रमा लगाइने भएकाले गण्डकीको कफी स्वाद, सुगन्ध र मिठासमा अब्बल मानिन्छ ।’ उनका अनुसार कफीको सुगन्ध, अम्लीयपन, मिठास, गोबरजन्य दुर्गन्ध, सफालगायत १० गुण हेरेर कफीको गुणस्तर मापन गरिन्छ । गण्डकीमा आव २०८१/८२ मा १४५१ हेक्टरमा कफी लगाइएकामा १५६ मेट्रिक टन उत्पादन भएको उनले बताए ।