
पायोनिअर विद्यालय गण्डकीकै उत्कृष्ट
स्याङ्जा, १६ वैशाख / स्याङ्जाको वालिङमा संचालिक पायोनिअर एजुकेसन एकेडेमी (मावि) गण्डकी प्रदेशमा नै उत्कृष्ट भएको छ । प्राविधिक शिक्षाअन्तर्गत हेल्थ असिस्टेन्ट विषयमा पायोनिअर विद्यालय गण्डकी प्रदेशमै उत्कृष्ट भएको हो ।
गएको भदौमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले सञ्चालन गरेको परीक्षामा ३२ जनामध्ये ३१ जना उत्तीर्ण भएका विद्यालयका प्रधानाध्यापक मेघराज गैह्रेले जानकारी दिए । प्रतिशतका आधारमा झण्डै ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले जनाए ।
उत्कृष्ट नतिजाले शैक्षिक गुणस्तर, वातावरण र प्राविधिक शिक्षाप्रति विद्यालयको मिहिनेतलाई प्रमाणित गरेको गैह्रेले सुनाए । २०४४ सालमा स्थानीय शिक्षाप्रेमीको अगुवाइमा स्थापना भएको पायोनिअर एजुकेसन एकेडेमीले २०५४ सालदेखि व्यावसायिक तथा प्राविधिक शिक्षाको विधिवत रुपमा पठनपाठन गर्दै आएको छ ।
पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थीका आकर्षण बढिरहेको विद्यालका प्राविधिक शिक्षा कार्यक्रम प्रमुख हिमनिधि पंगेनीले बताए । समयसापेक्ष आवश्यकता अनुसार शैक्षिक कार्यक्रम विस्तार गर्दै आएको संस्थाले गत वर्षदेखि हेल्थ असिस्टेन्ट (एच.ए.) को कक्षा सञ्चालनमा ल्याएको प्रमुख पंगेनीले जानकारी दिए ।
स्थानीय विद्यार्थी तथा अभिभावकहरूको मागलाई मध्यनजर गरेर पछिल्लो समय हेल्थ असिस्टेन्टको पढाइ सुरु गरिएको विद्यालयले जनाएको छ । प्राविधिक शिक्षातर्फ स्याङ्जासहित पाल्पा, गुल्मी र पर्वत जिल्लाका विद्यार्थीहरुले विद्यालयमा प्राविधिक शिक्षा पढ्दै आएका छन् ।
पछिल्लो नतिजा अनुसार विद्यालय गण्डकी प्रदेशमा पहिलो र नेपालमा नै दोस्रो भएको विद्यालयको दाबी छ । स्याङ्जा जिल्लामा पहिलो पटक प्राविधिक शिक्षा पठनपाठन सुरु गरेको झण्डै ३० वर्ष पुगेको विद्यालयले जनाएको छ । ३० वर्षको अवधिमा प्राविधिक क्षेत्रका हजारौं विद्यार्थीले अध्ययन गरेको जनाइएको छ ।





