
टेम्पल ट्री रिसोर्ट १६ औं वर्षमा प्रवेश, वार्षिकोत्सवका अवसरमा सामाजिक कार्य तथा उत्कृष्ट कर्मचारी सम्मान
पोखरा–६ बैदामस्थित टेम्पल ट्री रिसोर्ट प्रा.लि. स्थापनाको १५ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरेको छ । रिसोर्जले यस अवसरमा विभिन्न सामाजिक कार्य गर्दै वार्षिक उत्सव मनायो । आइतबार बिहान लेकसाइडको स्ट्रिट नम्बर ६ वरपर सरसफाई तथा डष्टविन वितरण गरेको थियो । त्यसैगरी मानव सेवा आश्रम, हेम्जामा खाद्य सामग्री वितरण गरेको थियो ।
दिवसका अवसरमा आइतबार टेम्पल ट्री प्रा.लि. परिसरमै एक समारोहको आयोजना गरियो । समारोहमा रिसोर्टमा कार्यरत उत्कृष्ट कर्मचारी सम्मान तथा आपसमा शुभकामना आदान–प्रदान गरियो । रिसोर्टमा लगातार १५ वर्षसम्म काम गर्दै आएका ऋषिराज गिरीलाई दीर्घसेवा कर्मचारीको सम्मान प्रदान गरियो ।
त्यसैगरी १० वर्ष देखि निरन्तर रुपमा काम गर्दै आएका रमेश गुरुङ तथा यो वर्षको सर्वोत्कृष्ट कर्मचारीको रुपमा युरोज श्रेष्ठलाई पनि सोही समारोहमै सम्मान गरियो । समारोहमा रिसोर्टका निर्देशक बिमल नहर्की, निर्देशक रन्जन कृष्ण कायस्थको पनि सहभागिता रहेको थियो ।
समारोहमा बोल्दै रिसोर्टका अध्यक्ष बसन्त गौतमले टेम्पल ट्री स्थापनाकालदेखि हालसम्मका सङ्घर्ष तथा सफलताका क्षणहरू स्मरण गर्नुभयो । नेपालको पर्यटन उद्योगमा विगत केही वर्ष यता विभिन्न खालका आरोह अवरोह आइरहेको बताउँदै यतिबेला पनि अन्तर्राष्ट्रिय युद्धका कारण पर्यटन क्षेत्रमा फेरि समस्या आउन सक्ने उहाँले बताउनुभयो । यो बेला उपलब्ध पर्यटकहरूलाई उत्कृष्ट सेवा दिँदै उहाँहरूको मन जित्नुपर्ने गौतमको भनाई थियो ।
समारोहमा बोल्दै रिसोर्टका निर्देशक प्रेमकृष्ण श्रेष्ठले रिसोर्टमा कार्यरत दक्ष तथा इमान्दार, लगनशील कर्मचारीकै कारण टेम्पल ट्री आज पोखराको प्रतिष्ठित रिसोर्टका रुपमा स्थापित हुन सफल भएको औल्याउनु भयो । सफलताको पछाडि रिसोर्टका साझेदारहरुको धैर्यता तथा व्याकबोण्डका रूपमा रहेका कर्मचारी भएको उहाँको भनाइ थियो ।
समारोहमा रिसोर्टका अपरेसन म्यानेजर सुमित भण्डारीले स्वागत मन्तव्य तथा एच.आर. म्यानेजर रामकृष्ण कडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । समारोहमा रिसोर्टमा कार्यरत कर्मचारीहरूले विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।





