म्याद गुज्रिएका खाद्य सामग्री बिक्री गर्ने पोखराको काठमाडौं फ्रेस बेकरीलाई जरिवाना

-


     क्लिक गण्डकी     
     माघ २९ गते २०८२ मा प्रकाशित


म्याद गुज्रिएका खाद्य सामग्री बिक्री गर्ने पोखराको काठमाडौं फ्रेस बेकरीलाई जरिवाना

म्याद गुज्रिएका खाद्य सामग्री बिक्री गर्ने पोखराको काठमाडौं फ्रेस बेकरीलाई जरिवाना

पोखरा, २८ माघ/ जिल्ला प्रशासन कार्यालय कास्कीले म्याद गुज्रिएका तथा लेबल विवरण नखुलेका खाद्य सामग्री बिक्री गरेको आरोपमा पोखरा महानगरपालिका–९ स्थित काठमाडौं फ्रेस बेकरीलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ।

काठमाडौं फ्रेश बेकरीबाट उत्पादित केक खाँदा बिरामी परेको उपभोक्ताको गुनासोपछि जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, उपभोक्ता मञ्च लगायतको संयुक्त अनुगमन टोलीले माघ २७ गते अनुगमन गरेको थियो।

अनुगमनका क्रममा पसल, उत्पादन स्थल तथा भण्डारण कक्षमा म्याद गुज्रिएका केही सामग्री फेला परेको, लेबलमा ब्याच नम्बर, उत्पादन मिति र प्रयोग योग्य मिति उल्लेख नभएको, पर्याप्त सरसफाइ नभएको तथा बिक्री बिल समेत उपलब्ध गराउन नसकेको पाइएको प्रशासनले जनाएको छ।

टोलीले म्याद गुज्रिएका खाद्य सामग्री नियन्त्रणमा लिई नष्ट गरेको छ भने सम्बन्धित बेकरीलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ। प्रशासनले व्यवसायीलाई मूल्यसूची तथा व्यवसायसम्बन्धी कागजात अद्यावधिक राख्न, सरसफाइमा विशेष ध्यान दिन, लेबलमा आवश्यक विवरण अनिवार्य उल्लेख गर्न तथा अनुगमनका क्रममा माग गरिएका कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।