
पोखरामा बुकहिल बुकाञ्जा
पोखरा, २७ पुस/ बुकहिल पब्लिकेशनको आयोजना र ¥यान्ड्म रिडर्स सोसाइटीको सहआयोजनामा पोखरामा शनिबार ‘बुकहिल बुकाञ्जा’ भएको छ ।
वरिष्ठ साहित्यकार सरुभक्तलाई बुकहिल पब्लिकेशनका संस्थापक अध्यक्ष भुपेन्द्र खड्काले पुस्तक हस्तान्तरण गरेपछि सुरु भएको बुकाञ्जामा विभिन्न ७ वटा सत्र भएका थिए । पहिलो सत्रमा ‘असहमति–तन्त्र’ शिर्षकमा सौरभ र एकान्त शर्मा गफिए । चर्चित विश्लेषक सौरभले समाज, संस्कृति र इतिहासका गलत भाष्यहरुविरुद्ध वैचारिक असहमति प्रकट गरे ।
सनातन इतिहास, परम्परा र संस्कृतिलाई राष्ट्र निर्माणको जग मान्ने एकान्त शर्माले सौरभसँग एउटै मञ्चमा एकसाथ असहमति–तन्त्र प्रकट गरे ।
दोस्रो सत्रमा ‘स्वको महायुग’ शीर्षकमा साहित्यकार सरस्वती प्रतीक्षाले सीमा आभासको पुस्तक महायुगमा आधारित रहेर भलाकुसारी गरिन् । सीमा आभासले आफूले लेखेको पछिल्लो पुस्तक ‘महायुग’ को आवरण चित्रका बारेमा उनले स्पष्टीकरण नै दिनुपरेको बताइन् । सचिन योगलले बनाएको महायुगको द्वार झल्काउने गरी बनाएको चित्र योनी मुद्रासँग मिल्न गएपछि पत्रकार, सामाजिक सञ्जाल (ट्विटर), पुस्तक वितरकलगायतमा चर्चाको विषय बनेपछि स्पष्टीकरण नै दिनुपरेको लेखिका अभास बताउँछिन् ।
पुस्तकमा पूर्वीय दर्शनमा टेकेर महिलाहरुको सम्मान पूर्वक अस्तित्व खोजिएको लेखिका सीमाले बताइन् । ‘यसमा आफूलाई कस्तो इच्छा लाग्छ त्यस्तो खालको पुरुष ब्युताइएको छ । यसमा हाम्रोमा जुन पूर्वीय दर्शन छ । त्यो दर्शनलाई नै टेकेर अगाडि बढेको हुँ,’ उनले भनिन्, ‘यसमा खासगरी महिलाहरुको सम्मान पूर्वक अस्तित्व खोजेको छु ।’
तेस्रो सत्रमा निष्प्रभ सजीले लेखेको याली लोकार्पण गरिएको थियो । साहित्य, कला र बौद्धिक विमर्शलाई एकै थलोमा जोड्ने उद्देश्यसहित आयोजना गरिएको उत्सवमा निष्प्रभ सजीको नवीन उपन्यास ‘याली’को लोकार्पण गरिएको हो । उपन्यास ‘याली’को विमोचन वरिष्ठ साहित्यकार सरुभक्त र लेखक स्वयं निष्प्रभ सजीले संयुक्त रूपमा गरेका हुन् ।
त्यसपछि उक्त पुस्तक यालीमाथि सरुभक्त र लेखक स्वयं निष्प्रभ सजी भलाकुसारी गरेका थिए । कार्यक्रममा उपन्यासमाथिको बहसमा सजीले आफ्नो लामो साहित्यिक यात्रा, ग्रामिण जीवन र प्रवासी अनुभव सुनाए । ‘पहिलो तपाईंले ग्रामिण कथालाई उठाउनुभएको छ । अर्कोतर्फ, ग्रामिण क्षेत्रको कथा जंगबहादुरको समयदेखि वर्तमान समाज, अस्टेलियाको समाज, प्रेम सम्बन्ध र कर्मको कथा र फिजीको जीवनसँग जोडिएको छ । यसरी समानान्तर रूपमा कथा वस्तु जोड्नुभएको छ, अलिकति असहज लागेन ?’ साहित्यकार सरुभक्तले सजीलाई प्रश्न तेस्र्याए ।
सजीले त्यसैकारण दोस्रो उपन्यास लेख्न ९ वर्ष लागेको सुनाए । ‘डार्लिङ हार्बर’ निस्कनुअघि मैले पहिले एउटा कथा तयार पारेको थिएँ । तर आख्याकारको रूपमा तयार भएपछि मैले सोचें कि के म आख्यान लेख्न सक्छु ? हामीले खोलामा गाईवस्तु चराउन जाँदा एउटा घर देख्यौं । त्यो घर एक्लै बाँचिरहेको थियो । मलाई लाग्यो–यो घर एक्लै कसरी बाँच्न सक्छ ? त्यसैबाट प्रश्न उठ्यो र कथा जन्मियो,’ सजीले भने ।
चौथो सत्रमा ‘निबन्धको उज्यालो’ शिर्षकमा रोशन शेरचन र भूपिन जमे । झन्डै तीन दशकदेखि लेखनमा सक्रिय निबन्धकार एवं कवि रोशनले निबन्धमा समाजमा भएको विभेदपूर्ण व्यवहारलाई मानविकिरण गरेर उर्जा प्रदान गर्नु नै उज्यालो हुने बताउँछन् । उनी भन्छन्, ‘समाजमा भएको जति पनि विभेदपूर्ण व्यवहार छ । त्यसलाई मानवीयकरण गर्ने जसले हामीलाई ऊर्जा दिन्छ । त्यसलाई पनि निबन्धको उज्यालो भनिन्छ होला ।’
जीवनमा अगाडि बढ्न हौसला दिनु पनि निबन्धको उज्यालो भएको रोशनको अनुभव छ । ‘जसले जीवनमा अगाडि बढ्न हौसला दिन्छ, ऊर्जा दिन्छ, लडेको बेला फेरि उठ भन्छ, भने त्यसलाई पनि उज्यालो भनिन्छ,’ उनले भने, ‘निबन्धमा यदि विवेकपूर्ण खालको विचार भएको छ भने, सुझिएको विचार आएको छ भने सायद त्यसलाई हामीले उज्यालो मान्न सक्छौं कि ।’
पाचौं सत्रमा कवि नदीशको एक हप्ता अघि प्रकाशित कविता संग्रह ‘हिउँद’ कवि नदीशले पोखरामा ‘नदीशको लयमा हिउँद’ शीर्षकमा आफ्ना कविता वाचन गरेका थिए । बुकञ्जामा नदीशको कवितासंग्रह ‘हिउँद’ मा संग्रहित केही कविता वाचन गरिएको थियो । उनले ‘कोकुन’, ‘यस्तो हुनु’, ‘अचेत सभ्यताको माझबाट’, ‘म फेरी आउँछु’, ‘निर्भुक्त’, ‘रोकिने मन छ नजाउ भन्ने कोही छैन्’लगायत शिर्षकका कविता वाचन गरेका थिए ।
छैटौं सत्रमा ‘पाइडल र पैताला’ शिर्षकमा पुष्कर शाह र गनेस पौडेल गफिए । उक्त सत्रमा शाहले लेखेको पुस्तक माथि चर्चा गर्दै १५० भन्दा बढि देश घुम्दा पाएको सुखदुखका अनुभव सुनाएका थिए । शाहले आफ्नो लामो साइकल यात्राले राष्ट्रप्रेम बढाउनुभन्दा पनि नेपाली राज्य र नागरिकताको सीमितता उजागर गरेको बताए ।
संवादको क्रममा पौडेलले शाहलाई साइकल यात्रीभन्दा पनि लेखकका रूपमा हेर्ने गरेको उल्लेख गर्दै साइकल यात्राले राष्ट्रप्रेम बढायो कि राष्ट्रको सीमितता देखायो भन्ने प्रश्न राखेका थिए । जवाफमा शाहले स्पष्ट शब्दमा भने, ‘यसले सीमितता देखायो।’ उनले विश्वभर घुम्दा नेपाली पहिचान र पासपोर्टको हैसियतलाई नजिकबाट अनुभूत गरेको बताए। ‘मेरो साइकलको पांग्राले जुन–जुन देशमा पाइडल राख्यो, त्यहाँ नेपालको झण्डा पुगेको छ,’ उनले भने, ‘यो देशको झण्डा कसैले लामो समय बोकेको छ भने मेरो साइकलले बोकेको छ ।’
बुकहिल बुकाञ्जाको अन्तिम सत्रमा ‘बुकहिल ब्यालेड्स’ शिर्षकमा सञ्चारकर्मी सञ्जोक बस्याल गायक बिनोद बानियाँ श्रेष्ठसँग गफिए । केही समयको भलाकुसारीपछि गायक बानियाँले सरुभक्त र तीर्थ श्रेष्ठको गीत गाएर कार्यक्रममा उपस्थितलाई झुमाउँदै पोखरामा भएको बुकहिल बुकाञ्जा सकिएको थियो ।





