
जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, 3० असोज/ जिल्ला प्रहरी कार्यालय कास्कीले कास्की कारागारबाट फरार रहेका ८१ जना कैदी तथा थुनुवाहरूलाई पक्राउ गरेको छ ।
भदौ २३ र २४ गते आन्दोलन, तोडफोड तथा आगजनीका घटनापश्चात् कास्की कारागारबाट विभिन्न मुद्दामा थुनामा रहेका कैदीहरू फरार भएका थिए। त्यस पश्चात् कारागार विभागले असोज २० गतेसम्म स्वस्फूर्त रुपमा फर्किन अपिल गरेको थियो।
सो म्यादसम्म कारागार नफर्किएका फरारलाई खोजतलास गरी पक्राउ गर्ने कार्य तीव्र पारिएको कास्की प्रहरीले जनाएको छ।
प्रहरीको सक्रियता र अनुसन्धानपछि विभिन्न स्थानहरूबाट पक्राउ गरिएका कैदी र थुनुवाहरूलाई पुनः कारागार कार्यालय कास्कीमा बुझाइएको छ। अन्य फरारहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरू निम्न मुद्दाहरूमा दोषी ठहरिएका वा मुद्दा विचाराधीन अवस्थामा रहेका छन् ।
जवरजस्ती करणी – १६ जना, लागू औषध सम्बन्धी – १६ जना, चोरी – २५ जना, कर्तव्य ज्यान – ८ जना,ज्यान मार्ने उद्योग – ९ जना, अभद्र व्यवहार – ४ जना, सवारी अंगभंग – १ जना, कुटपिटबाट अंगभंग – १ जना, मानव वेचविखन – १ जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले शान्ति सुरक्षा र कानूनी शासन सुनिश्चित गर्न बाँकी फरारहरूको खोजीलाई निरन्तरता दिइने जनाएको छ। नागरिकहरूलाई पनि कुनै फरारको सूचना भएमा प्रहरीलाई जानकारी दिन आग्रह गरिएको छ।





