पोखराका ताल सरसफाई गर्न पोखरा महानगर र लक्ष्मी ग्रुपबीच सम्झौता

-


     क्लिक गण्डकी     
     श्रावण २३ गते २०८२ मा प्रकाशित


पोखराका ताल सरसफाई गर्न पोखरा महानगर र लक्ष्मी ग्रुपबीच सम्झौता

पोखराका ताल सरसफाई गर्न पोखरा महानगर र लक्ष्मी ग्रुपबीच सम्झौता

पोखरा, २२ साउन/ पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप (लक्ष्मी फाउण्डेसन) बीच पोखराका ताल सरसफाई सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । तालको पानी कञ्चन बनाउने तथा तालमा रहेको जलकुम्भी झारलाई रोजगारीसँग जोड्ने विषयमा दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा पोखरा महानगरपालिकाका तर्फबाट प्रमुख धनराज आचार्य र लक्ष्मी फाउण्डेसनको तर्फबाट अध्यक्ष गणेशबहादुर श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार लक्ष्मी फाउण्डेसनले पोखरामा रहेका तालहरुको सरसफाई गर्नेछ । जस अनुसार फाउण्डेसनले तालको पानी निर्मलीकरण गरेर सफा र स्वच्छ बनाउने छ । त्यस्तै, तालमा जलकुम्भी झारको सरसफाई गर्नुका साथै त्यसलाई रोजगारीसँग जोड्ने समझदारी पत्रमा उल्लेख छ ।

तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणका लागि सिपमूलक तालिम र रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्ने लक्ष्मी ग्र्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए ।

सम्झौताले महानगरपालिकाको प्रथम पञ्चवर्षीय नगर ऊर्जा योजनाले निर्दिष्ट गरेका उद्देश्यहरू प्राप्ति गर्न सहज बन्ने छ । कार्यक्रमबाट जलवायु वित्त र जलवायु न्याय कोषको खोजी गरी विपन्न समुदायलाई सहयोग गर्ने लगायत उद्देश्यले समझदारी गरिएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए । उनले पहिलो चरण एउटा तालबाट ६ महिना परिक्षण अवधि हुने र त्यस पछि ५ वर्ष सम्म रहने पोखराका मयेर धनराज आचार्यले बताए ।

लक्ष्मी ग्रुपले सामाजिक उत्तरदायित्व अन्तरगत यो काम गर्न लागेको हो । त्यसै गरी १ हजार विपन्न परिवारलाई विद्युतीय चुलो र त्यसलाई आवश्यक पर्ने भाडा प्रदान गर्ने लक्ष्मी ग्रुपका निर्देशक निन्जन श्रेष्ठले जानकारी दिए । उनले महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ र जलकुम्भी लगायत झारहरूको व्यवस्थापन, जलकुम्भीबाट हस्तकला उत्पादन र सिप विकास, गण्डकी बहु प्राविधिक शिक्षालयका विद्यार्थीका लागि इन्टर्नसिप र प्रशिक्षण दिने बारे सम्झौतामा रहेको बताए ।

यो परियोजनालाई आवश्यक सबै खर्च लक्ष्मि ग्रुपले गर्ने छ । परियोजनाको प्राविधिक गुणस्तर तोकिएको मापदण्ड अनुसार नियमित अनुगमन र मूल्याङ्कन गरिनेछ । पहिलो चरणमा पाइलट परियोजना ६ महिनाभित्र मूल्याङ्कन गरी त्यसको प्रभावकारीताका आधारमा पोखराको फेवाताल लगायत अन्य तालहरूमा परियोजना क्रमशः विस्तार गर्दै लगिने छ ।




Tags: