
राजकुमार कार्की
पोखरा, २० साउन/ जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार काकीलाई असार महिनाको बेस्ट पुलिस अफ द मन्थ घोषणा गरेको छ ।
असार महिनामा लागूऔषध कारोबारी, सुन तस्कर, जुवाडे तथा जबर्जस्ती रकम असुल्ने समूहलाई पक्राउ गरी महत्वपूर्ण सफलता हासिल गरेको भन्दै कार्कीलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
प्रहरी निरीक्षक काकीको सक्रियतामा प्रहरीले विभिन्न प्रकृतिका अपराधमा संलग्न ३१ जनालाई पक्राउ गरेको थियो । उनी नेतृत्वको टोलीले असार ६ गते अवैध रुपमा बिक्री वितरणका लागि ल्याइएको करिब १ करोड ३० लाख रुपैयाँ बराबरको सुनका गरगहना सहित २ जनालाई पक्राउ गरेको थियो ।
त्यस्तै, प्रहरी निरीक्षक काकीले कास्की जिल्लाका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी उनीहरुको साथबाट नगद ४ लाख ८६ हजार ४ सय ७५ रुपैयाँ बरामद गरेका थिए ।
यसका अतिरिक्त, असार ३ गते लागूऔषधसहित चार जना व्यक्तिलाई पक्राउ गरिएको थियो भने असार २७ गते एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कालोमोसो दल्ने भन्दै धम्क्याएर रकम असुल्न खोज्ने ३ जनालाई पनि पक्राउ गरिएको थियो ।





