
पोखरा १२ ले बनायो प्राचीन शैलीको प्रवेशद्वार, बगैंचा र फल्चा
पोखरा, १६ साउन/ पोखरा महानगरपालिका वडा नम्बर १२ कार्यालय परिसरमा निर्माण गरिएका विभिन्न संरचनाहरूको उद्घाटन गरिएको छ । परम्परागत शैलीमा निमार्ण भएको प्रवेशद्वार, फल्चा र सुन्दर बगैँचा लगायतको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रबार उद्घाटन गरे ।
पोखरा महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोलाको नेतृत्वमा वडाका जनप्रतिनिधि, सरोकारवाला, निर्माण समिति लगायतको सक्रिय सहभागितामा करिब १ करोड ४० लाख रुपैयाँ लागतमा निर्माण गरिएका यी संरचनाहरू निकै आकर्षक रहेका छन् ।
यसले सेवाग्राहीहरूलाई समेत आराम गर्ने र सहज रूपमा सेवा प्राप्त गर्ने वातावरणको सृजना हुने अपेक्षा गरिएको छ ।
इँटा र झिँगटीले बनेको गेटले भक्तपुरमा प्रचलित प्राचीन शैलीको झल्को दिने गरेर निमार्ण गरिएको छ ।
त्यही गेटबाट प्रवेश गरेपछि हरियो दुबोको बगैंचा देखिन्छ । त्यही बगैंचाको बिचमा भक्तपुरे शैलीको फल्चा (प्रतीक्षालय) छ । कार्यालय परिसर बलियो पर्खालले घेराबन्दी गरिएको छ ।
वडा कार्यालय प्रवेश गर्दा सकारात्मक भाव सिर्जना होस् भनेरै नेपाली शैलीमा प्रवेशद्वार र फल्चा निर्माण गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । उनले सेवामा पनि त्यस्तै हुने बताए ।
बलबहादुर कार्की संयोजकत्वको समितिले ती संरचना निर्माण गरेको हो । वडा कार्यालयका अनुसार प्रवेशद्वार निर्माणमा ३० लाख रुपैयाँ खर्च भएको छ ।
बगैंचामा ३० लाख रुपैयाँ, फल्चामा १५ लाख रुपैयाँ र पर्खालघेराबन्दीमा ६५ लाख रुपैयाँ लागत गरी १ करोड ४० लाख रुपैयाँ लागत लागेको कार्यालयले जनाएको छ ।
मेयर आचार्यले नेपाली शैलीलाई महत्व दिनुपर्ने बताउँदै पुरानो पोखरा (भैरवटोल, मोहोरियाटोल) लाई सम्पदाका रुपमा संरक्षण गरिने सुनाए ।





