
अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडाउन अनुमती अनिवार्य, सिम्रिक एयरले लियो अनुमती
पोखरा, २२ फागुन/ विश्वको चर्चित अन्नपूर्ण बेसक्याम्पमा स्वदेशी होस् या विदेशी पर्यटक पुग्ने इच्छा हुन्छ । पर्यटक सबै जना हिडेरै त्यहा पुग्न सक्दैन । त्यस्तै पर्यटकलाई मध्येनजर गरेर पोखराबाट हेलिकप्टरमा पनि जाने व्यवस्था छ ।
अहिले सम्म त्यसरी उडान गर्दा अन्नपूर्ण गाउँपालिकाले केही पाएको छैन तर अब भने हेलिकोप्टर ल्याण्ड गर्दा शुल्क बुझाउ सिम्रिक एयर सहमत भएको छ ।
कास्कीको अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर ल्याण्ड गर्दा कम्पनीले १० हजार रुपैयाँ शुल्क तिर्ने छ । सिम्रिक एयरले शुल्क तिरेरै उडान गर्ने गरी पालिकासँग सम्झौता गरिसकेको छ । २०७९ मा बनाइएको कार्यविधिमा पालिकाले संशोधन सहित फागुन १ गते राजपत्रमा प्रकाशन गरेको त्यसै अनुसार शुल्क लिन थालिएको अन्नपूर्ण गाउँ पालिकाका अध्यक्ष विष्णु केसीले बताए ।
बेस क्याम्पमा व्यावसायिक उडान गर्न चाहने कम्पनीले पालिकामा सूचीकरण गर्नुपर्छ । सूचीकरणको छुट्टै ५ हजार तिर्नुपर्छ । पालिकाबाट अनुमती लिएका कम्पनीले मात्रै वर्षैभरी उडान भर्न पाउनेछन् । तर उद्धारका लागि गरिएको उडानमा भने त्यस्तो सिमा छैन । त्यसै क्षेत्रमा उडानका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) बाट पनि अनुमती लिनुपर्दछ । प्रति उडान ३ हजार लिएर अनुमती दिइएको एक्यापका प्रमुख डा. रविन कडरियाले बताए ।
अन्नपूर्ण क्षेत्रमा प्रति दिन बढीमा १२ वटासम्म मात्रै उडान गर्न पाउने गरी व्यवस्था मिलाइएको छ । धेरै उडान हुँदा पदयात्रामा जाने पर्यटक र वन्यजन्तुलाई असर परेको गुनासो आएपछि सिमित उडानका लागि मात्रै अनुमति दिने व्यवस्था गरेको अन्नपूर्ण गाउँ पालिकाका वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले बताए ।
बढी उडान गरे कारबाही गर्न स्थानीय क्लबलाई व्यवस्थापनको जिम्मा दिएको छ । जलवायु परिवर्तनको असरलाई समेत ध्यान दिएर कार्यविधि तयार गरिएको छ । उडानलाई व्यवस्थित गर्न पोखरा विमानस्थल र बेसक्याम्पमा एक एक जना कर्मचारी पालिकाले खटाउने उनले बताए ।
अघिल्लो आर्थिक वर्षमा मात्रै बेस क्याम्प क्षेत्रमा झण्डै २७० व्यवसायिक उडान भएका छन् । सिम्रिक एयरले शुल्क तिरेरै उडान गर्ने गरी पालिकासँग सम्झौता गरिसकेको पालिका अध्यक्ष विष्णु केसीले जानकारी दिए । उनले अब अनुमती नलिएका कम्पनीले बेसक्याम्पमा उडान भर्न नपाउने बताए ।
तोकिएको कम्पनी बाहेक अन्यले उडान भर्न चाहेमा प्रति उडान २० हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था राखिएको छ । हेलिकोप्टर उडानबाट उठेको रकमबाट ३ प्रतिशत पर्यटन सूचना केन्द्र संचालन कोषमा खर्च गर्ने पालिकाले जनाएको छ । पर्यटन शुल्कबाट प्राप्त आम्दानी ११ नम्बर वडाको पर्यटन विकासमा खर्च गर्ने व्यवस्था कार्यविधिमा छ ।





