पुलिस ११ औं पटक आहा रारा पोखरा गोल्डकपको फाइनलमा

-


     क्लिक गण्डकी     
     माघ ३० गते २०८१ मा प्रकाशित


पुलिस ११ औं पटक आहा रारा पोखरा गोल्डकपको फाइनलमा

पुलिस ११ औं पटक आहा रारा पोखरा गोल्डकपको फाइनलमा

पोखरा, ३० माघ/ नेपाल पुलिस क्लब पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल तथा प्रतियोगिता कै २५० औं खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।

पुलिसका लागि सन्जिव लामाले निर्णायक गोल गर्दै ११ औं पटक आहा राराको फाइनल प्रबेश गरेको छ । उनले विपक्षी टिम चर्च ब्वाईजका डिफेन्डर राज भुषालले गरेको क्लियर बल नियन्त्रणमा लिएर भलि प्रहार गर्दा जाली चुमेको हो ।

उनले ५८ औं मिनेटमा २५ यार्ड टाढाबाट प्रहार गरेको बल गोलरक्षक टिकेन्द्र थापाले मेसो पाउन सकेनन् । आहारारा पोखरामा पुलिसले आफ्नो ५० औं खेललाई जित सहित स्मरणिय बनायो ।

पुलिस २०७६ सालपछि आहा रारामा फाइनल पुगेको हो । पुलिसले ६ पटक उपाधि जित्दा ४ पटक उपविजेता बनेको छ । बुधबारको खेल आहा ! रारा पोखरा गोल्डकपको २५० औं खेल हो ।

सहारा क्लब पोखराले २०५८ सालमा क्याराभान गोल्डकपबाट शुरु गरेदेखि बुधबारसम्म आईपुग्दा २५० औं खेल भएको अवसरमा बलुन उडाएर सेलेब्रेसन गरिएको थियो ।

प्रतियोगिता अन्तर्गत अब दोश्रो सेमीफाइनल खेलमा बिहीबार थ्रीस्टार र ब्ल्याक बुल्स फुटबल क्लब आमनेसामने हुनेछन् । प्रतियोगिताको फाईनल खेल फागुन ३ गते शनिबार हुनेछ ।



Tags: