
आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा
पोखरा, २८ माघ/ साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज २४ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
चर्च ब्वाइजले विभगीय टोली आर्मीलाई १–० ले हराउँदै अन्तिम चारमा पुगेको हो । चर्च ब्वाइजलाई जित दिलाउन राज भुषालले ८९ औं मिनेटमा निर्णायक गोल गरे ।
नवीन लामाले प्रहार गरेको कर्नर किकबाट आएको बललाई राजले हेड मार्फत गोल गरे । आर्मीका गोल रक्षक आविष्कार खड्काले बललाई रोक्न सकेनन् ।
योसँगै चर्च ब्वाइजले गत संस्करणको सेमिफाइनलमा आर्मीसँग व्यहोरेको हारको बदला समेत लिएको छ । अब चर्च ब्वाइजले फाइनल प्रवेशका लागि माघ ३० गते अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
चर्च ब्वाइजले पहिलो खेलमा एनआरटीलाई सडनडेथमा पराजित गरेको थियो । बाई पाएर सिधै क्वाटरफाइनल खेलको साविक आर्मी भने पहिलो खेलबाटै बाहिरीएको छ ।
सहारा क्लबको आयोजना, हिमश्री फुड्सको उत्पादन रारा चाउचाउको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगितामा मंगलबार ब्ल्याक बुल्स एफसी उज्वेकिस्तान र थण्डरबोल्ट नर्थ युनाईटेड सिकिम्मका बिच प्रतिस्पर्धा हुनेछ ।





