
बेलुन उडान
पोखरा, ६ पुस/ पोखरामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा १५ देशका पाइलट सहभागि हुने भएका छन् । पोखराको साहसिक पर्यटनलाई प्रर्वद्धन गर्न आयोजित महोत्सवका लागि विदेशी पाइलट पोखरा आइसकेका छन् । नेपालमै पहिलोपटक पोखरामा बेलुन महोत्सव संचालन हुँदैछ ।
पुस ९ देखी १७ गते सम्म सञ्चालन हुने महोत्सवमा एक पटक १७ वटा बेलुनहरु नेपाली आकाशमा उठ्ने छन् । बेलुन साहसिक पर्यटकीय गतिविधि गराउने पर्यटकीय प्रडक्ट हो । बेलुन नेपालले सन् २०१८ देखि पोखरामा हट एयर बेलुनमार्फत पर्यटकलाई पोखराको आकासमा सयर गराउँदै आएको छ ।
बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्न महोत्सव आयोजना गरिएको बताए । बिहान र बेलुकीको समयमा एकैपटक धेरै बेलुनहरु उड्ने छन् ।
पोखरा पर्यटन परिषद् (पिटिसी) र बेलुन नेपाल प्रालिको संयुक्त आयोजनामा हुने प्रतियोगिता फेवातालको सिरान क्षेत्रको पामेमा महोत्सव हुनेछ । हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म पर्यटक उड्न सक्छन् । महोत्सव अवधिमा बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म बेलुन उडान हुनेछ ।
चिसो मौसममा बेलुन उडान सहज हुने भएकोले बिहानी र बेलुकीको समय उपयुक्त हुने गर्दछ । पोखराका पर्यटक भित्रिने नयाँ बहाना बेलुन महोत्सव भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । उनले विभिन्न सांस्कृतक कार्यक्रमहरु समेत गरीने बताए ।
क्रिसमस र अंग्रेजी नयाँ वर्षका अवसरमा पोखरामा हुने सडक महोत्सवमा पर्याप्त पाहुना आउने भएकोले पनि बेलुन उडानको प्रवद्र्धन हुने पनि उनले बताए । पामेको आकाशमा बेलुन उडान गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जमिनको सतहदेखि ५ हजारफिट उचाइसम्म उड्न पाउनेगरि सीमा तोकिदिएको छ ।
बेलुनमा सयर गर्दा नेपालीले प्रतिव्यक्ति ११ हजार शुल्क तिनुपर्छ । त्यस्तै सार्क मुलुक र चीनका पर्यटकले प्रतिव्यक्ति १ सय २० र अरु मुलुकका विदेशीले १ सय ५० अमेरिकी डलर शुल्क तिर्नुपर्छ । बेलुनको उचाईमा पुगेपछि उत्तरतर्फको हिमाली श्रृंखला, पोखरा सहर, फेवाताल सहितका फेवातालको सिरान क्षेत्रको पञ्चासे क्षेत्र समेत अवलोकन गर्न पाइने छ ।
कार्यक्रममा पोखरा विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरले बेलुनको उडानका लागि नौ दिन अवधिका लागि पामेको आकाशमा नोटाम (नोटिस टु एयर म्यान) जारि गरिएको बताए ।
त्यसै गरी पोखरा पर्यटन परिषद्का पुर्व अध्यक्ष पोमनारायण श्रेष्ठ, गण्डकी प्रदेशका प्रेस रजिस्टार विमला भण्डारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगाएतले बेलुन महोत्सवले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताएका थिए ।





