
राउटे मुखिया ‘बडा तिहार’ मनाउने खर्च जुटाउन पोखरामा
पोखरा, ६ मंसिर/ लोपोन्मुख समुदायका रुपमा रहेको राउटे यती बेला चार्ड मनाउ खर्च जुटाउन पोखरामा आएको छ । राउटे समुदायका मुखिया शेरबहादुर रासकोटी शाहीको नेतृत्वको टोली पोखरा आएको हो ।
लोपोन्मुख समुदायका रुपमा रहेको राउटको ठुलो चार्ड ‘बडा तिहार’ आउदैछ । चार्ड मनाउने खर्च जुटाउन सुर्खेतबाट राउटे टोली पोखरा आइपुगेको छ । राउटे मुखिया शेर बहादुर रासकोटी शाहीको नेतृत्वमा ७ जनाको टोली पोखरा आएको हो ।
चार्डका लागि एकसरो लुगा, चामल, तेल, दाल तथा खसीका लागि आवश्यक पर्ने रकम जुटाउन उनीहरु सुर्खेतबाट पोखरा आएका हुन् । राउटे मुखिया शाहीले राउटेले मङ्सिरमा बडा तिहार मनाउने गरेको बताए ।
उनीहरु पोखरा महानगरपालिका र गण्डकी प्रदेशका विभिन्न मन्त्रालयमा पुगेर सहयोग उठाए । पोखराबाट राउटेलाई खुशी बनाएर पठाउँछ कि पठाउदैन हेर्न बाँकी भएको बताए । बडा तिहारमा ७/८ वटा खसी काट्न पर्ने र सोही अनुसार रासनपानी चाहिने भएकोले खर्च आवश्यक पर्ने गरेको उनको भनाई छ ।

पहिला–पहिला घरको मुखिया आउने गरेको भएपनि उमेर बढ्दै गएका कारण यसपालि आफूहरूलाई पठाएको शाहीले बताए । अहिले घर मुखिया टाढाको यात्रा गर्न सक्दैनन् ।
राउटे जातिलाई चाडपर्वको बेला खर्च जुटाउन र जाडो मौसममा एकसरो लुगा जुटाउन समेत समस्या हुने गरेको छ । उनले जाडो आउन लागेको भन्दै कपडाको पाल र कम्मल उपलब्ध गराइदीन आग्रह गरे ।
सुर्खेतमा आफूहरूको ४६ घर धुरी रहेको र त्यसमा करिब २ सयको हाराहारीमा जनसङ्ख्या राउटे रहेको उनको भनाई छ ।
जति सक्दो छिटो सुर्खेत फर्किहाल्ने बताएका उनले बडा तिहार मंसिर ११ र १२ गते मनाउने बताए । काठका सामग्री बनाउने र बिक्री गर्ने परम्परागत पेसा सङ्कटमा परेपछि मागेर खानुबाहेक अर्को विकल्प नभएको उनीहरुको भनाई छ ।







