गण्डकी बोडिङ स्कुलको प्रिन्सिपलमा डा. विश्वयुधिर पौडेल नियुक्त

-


     क्लिक गण्डकी     
     असार २८ गते २०८१ मा प्रकाशित


डा. विश्वयुधिर पौडेल घर्ती

डा. विश्वयुधिर पौडेल घर्ती

पोखरा, २७ असार/ गण्डकी बोर्डिङ स्कूलको प्रिन्सिपलमा डा. विश्वयुधिर पौडेल घर्ती नियुक्ति भएका छन् । पौडेललाई ‘छनोट उपसमिति’ले प्रिन्सिपलमा नियुक्त गरेको विद्यालय व्यवस्थापन समितिकी सदस्य विमला भण्डारीले जानकारी दिइन् ।

पोखरा विन्ध्यवासिनी निवासी उनी विद्यालयको पूर्व विद्यार्थी समेत हुन् । नदीपुरको पोखरा कलेज अफ म्यानेज्मेन्टका प्रिन्सिपल समेत भइसकेका उनले काठमाडौं विश्वविद्यालयबाट पिएचडी गरेका थिए ।

यसअघि वीरेन्द्र खड्काको ५ वर्षे कार्यकाल समाप्त भएपछि विद्यालयले गत २० जेठमा खुला प्रतिस्पर्धाबाट प्रिन्सिपल (११ औं तह) नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । जसमा १४ जनाबाट ८ जनाको संक्षिप्त सूची प्रकाशित गरी बुधबार व्यावसायिक कार्ययोजना तथा अवधारणा पत्रको प्रस्तुति र अन्तर्वार्ता लिइएको थियो ।

अन्तिम ८ को संक्षिप्त सूचीमा सावित्रीकुमार शर्मा, डा. विश्वयुधीर पौडेल घर्ती, विष्णु लम्साल, राजकुमार ढकाल, नवीन पौडेल, दयाराम गुमान्जु, गोकुल घिमिरे शर्मा र स्थीरबाबु सुवेदी छानिएका थिए । कक्षा ४ देखि १२ सम्म करिब १२ सय विद्यार्थी पढ्छन् ।

सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित गण्डकी आवासीय माध्यमिक विद्यालय तथा गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स (गण्डकी बोर्डिङ स्कुल) मा शिक्षा मन्त्रालयका सहसचिवको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन छ ।



Tags: