कहाँ गए ति चौताराहरु ………

-


     क्लिक गण्डकी     
     जेठ २४ गते २०८१ मा प्रकाशित


चौतारा

चौतारा

विश्व सिग्देल

प्रिय भाइ नारायण गाउँलेले चौतारीबारे सुन्दर पोष्ट लेखेपछी मलाई पनि केही थपथाप गरौं की भन्ने खसखस भयो । चौतारी पोखराको पहिचान गौरब धरोहर जे भनेपनि भएको हुंदा थोरै आधाअधुरो ज्ञान बांडचुंड गर्ने धृष्टता गरें ।

चौतारी आंफैमा पुर्ण होइन ,चौतारी पोखरी गौचरनको संयुक्त अंग पुरा भएपछी यसलार्इ चौतारी भनिन्थ्यो । चौतारी पोखरी पाटन (गौचरन) सजिलोको लागी एउटा नाम जे भनेपनि तिनै अबयबको पुर्ण रुप बुझ्नु पर्थ्यो ।

सन्तान नभए ,रोगब्याध लागे वा कुनै आकंक्षा भए पुरा होस भनि भगबानसंग भाकल गर्न आफ्नै निजी जमिनमा चौकारी बनाउने त्यसको पछाडी पोखरी र गौगचरनको लागी जमिन राख्ने त्यसपछी बर पिपलको बैदिक बिधिपुर्बक बाजागाजा सहित बिबाह गर्ने ,पोखरीमा पुजाआजा सहित मौलो गाडने र पाटनमा नुन छरेर गौचरनको निमित्त जनतामा ईश्वर साक्षि राखी समर्पण गर्ने रित थियो ।

अझ मन र धन भएका मनकारीहरुले चौतारीकै परिसरमा ढुंगाको छाना भएका एक वा दुई तले ठांटी (पौवा, सत्तल) समेत बनाएर निरन्तर मर्मत संभार होस भनि गुठी समेत राखिदिन्थे ।

पोखरामा पण्डित पौवा, रानीपौवा आदि ठाउंका नाम यिनै ठांटी वा पौवाका नाम बाट बनेका हुन । एक दुइ पौवा पोखरामा अझै धिकिर धिकिर गरेर सास फेरी रहेछन।तिर्थयात्री ,ब्यापारी ढाक्रे भरियाहरु यिनै पौवामा बास बस्ने खानपानको ब्यबस्था गर्थे ।

चौतारीमा चराचुरुंगीको बासस्थान आहार छाहारीमा बटुवाहरुको बिश्राम र आबस्यक परे बास ,पोखरीमा गाईबस्तुको लागी पिउने पानी,कपडा धुने सागपातमा पानी लगेर तुर्क्याउने,दैबि प्रकोप परे दमकलको काम हुन्थ्यो भने हाबामा तथा जमिनमा जलभरणको काम पनि हुन्थ्यो भने पाटनमा घुमफिर बालखाहरुका लागी खेलकुद र चौपायाहरुको चरन हुन्थ्यो ।

नुन छर्नुको कारण पसुको निमित्त थियो भने ,नुन छरेर पसुको निमित्त छुट्याएको जमिन अतिक्रमण गर्नु क्षतबिक्षत पार्नु कठोर राजकिय दण्ड हुन्थ्यो भने यमदण्डको भय त छंदै थियो ।

चौतारीहरुमा पत्थरका छपनीमा खोपेर मंगलाचरण, चन्द्र सुर्य स्वस्तिक चिन्ह पछी दाताको बिबरण खोपेर गाडिएपछी निर्माताले आफ्नो चौतारी पोखरी पाटनको जमिन सार्बजनिकरुपमा दान गर्थे । हजारौं पोखरीहरुबाट नाम पोखरा भएको र यस्तै हजारौं पाटन भएका कारण अझै पनि पोखराका टोल टोलका नाम पाटन छन । बाझांपाटन ,घारीपाटन, मझेरीपाटन आदी आदी ।

आज पोखरामा पोखरा छ ,पोखरी छैनन ,टोलका नाम पाटन छन तर एउटा पाटन छैनन । सनिबार महिलाहरु पिपलको पुजा गर्न घन्टौं परका चौतारामा पुग्छन ,बर पिपल समिहरु दुलर्भ भैसके ।कस्को कारणले भए ,सबै जानकार भएकाले भनि रहनु परेन । चौतारी पोखरी पाटन नरहे पछी अब पोखरा पोखरा रहेन ।

विश्व सिग्देलको फेसबुकबाट लिएको हो ।



Tags: