
प्रकट पंगेनी
पोखरा, ४ बैशाख/ साहित्यकार प्रकट पंगेनी शिवको मंगलबार निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा मंगलबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ ।
उपचारमा महंगो खर्च लाग्ने भएपछि मंगलबार आर्थिक संकलन अभियान थालिएको थियो । उनको उपचारका लागि पोखरा महानगरपालिकाले १ लाख र पोखरेली सांस्कृतिक परिवारले २५ हजार सहयोग गर्ने निर्णय गरी सकेका थिए ।
बुधबार दिउँसो १२ बजेपछि मणिपाल अस्पतालबाट शवयात्रा गरी पोखरा ११ फुलबारी घाटमा उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ । उनको परिवारमा श्रीमति, एक छोरा र एक छोरी छन् ।





