भेट्रान एट एसाइड फुटबलः क्वाटरफाइनल समिकरण पुरा

-


     क्लिक गण्डकी     
     माघ २३ गते २०८० मा प्रकाशित


भेट्रान एट एसाइड फुटबलः क्वाटरफाइनल समिकरण पुरा

भेट्रान एट एसाइड फुटबलः क्वाटरफाइनल समिकरण पुरा

पोखरा, २३ माघ/ पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ ।

बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा मंगलबार सात खेल सम्पन्नसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो ।

पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि उमेर समूहको प्रिक्वाटरअन्तरगत मंगलबारको पहिलो खेलमा ठमेल भेट्रान काठमाडौंले फ्रिडम फाइटरलाई ५–३ ले हरायो । ठमेलका लागि नगेन्द्र देवानले ह्याट्रिक गरे ।

टासी छिरिङ र नविन न्यौपानेले एक–एक गोल गरे । फ्रिडमका लागि विकर्ण श्रेष्ठले दुई तथा धनविर चौधरीले एक गोल गरे । दोस्रो खेलमा चिया पपले थापागाउँ भेट्रानलाई २–१ ले हरायो । मित्र बहादुर बस्नेत र सन्तोष नेपालीले एक–एक गोल गरे । थापा गाउँका लागि नारायण कार्कीले एक गोल गरे ।

निकै रोमाञ्चक बनेको तेस्रो खेलमामा नागस्वेती हेटौडाले संगम भेट्रान पोखरालाई सडनडेथमा ६–५ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २–२ को बराबरी हुँदा सडनडेथमा पुगेको थियो ।

चौथो खेलमा चावहिल काठमाडौंले कुमण्डोल ललितपुरलाई २–१ ले हरायो । चावहिलको जीतमा पासाङ शेर्पाले दुई गोल गरे भने, कुमण्डोलका लागि रमेश सिकेमानले एक गोल गरे ।

पाँचौ खेलमा आयोजक बगर भेट्रानले एमएमभी पाँचथरलाई टाइब्रेकरमा २–० ले हरायो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

छैटौं खेलमा जोरपाटीले चितवन भेट्रानलाई १–० ले हरायो । जोरपाटीको जीतमा सुमन मोक्तानले गोल गरे । दिनको अन्तिम खेलमा हेटौडाले नाइटकिंग काठमाडौंलाई टाइब्रेकरमा ३–२ ले हरायो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । प्रतियोगितामा भोलिदेखि क्वाटरफाइनलका खेल सुरु हुनेछन् ।



Tags: