
गण्डकी र आर्मी बिचको खेल तस्बिरः उमेश पुन
पोखरा, ४ माघ/ पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघले सेमिफाइनलमा प्रबेश गरेको छ ।
टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा बिहीबार भएको अन्तिम लिगमा गण्डकी विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन क्लब संग ३–२ सेटले पराजित भए पनि अंकका आधारमा सेमिफाइनलको यात्रा तय गरेको हो ।
अंकमा आर्मी र गण्डकीको बराबरी दुई अंक भए पनि गण्डकीले सेट अंकका आधारमा सेमिफाइनमा प्रबेश गरेको हो ।
आर्मीले गण्डकीलाई २५–२०, २०–२५ र १७–२५, २५–२१ र १५–६ सेटमा हरायो । गण्डकीले सेमिफाइनलमा गु्रप बी को बिजेता सशस्ब प्रहरीको एपिएफ क्लबको सामना गर्नेछ ।
समूह बि बाट एपिएफ विजेता र श्रीलंका आर्मी टिम उपविजेता हुँदै बुधबार नै सेमिफाइनल प्रवेश गरेका थिए । शुक्रबार हुने पुरुषतर्फको सेमिफाइनलमा हेल्प नेपाल र श्रीलंका आर्मी र दोश्रो खेल एपिएफ र गण्डकीका बिच हुनेछ ।
त्यस्तै महिलातर्फ तेश्रो स्थानका लागि हुने खेलमा नेपाल आर्मीको त्रिभुबन क्लबले अर्को विभागिय टोली नेपाल पुलिसको सामना गर्नेछ ।
महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमण्डका बिच उपाधि भिडन्त हुने छ । न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै फाइनल प्रबेश गरेको हो । डायमण्डले नेपाल पुलिसलाई २५–१९, २५–१८ र २५–१८ ले हरायो ।
त्यसै गरी एपिएफले नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । एपिएफले १९–२५, २०–२५, २५–१३, २५–१६ र १५–१३ ले आर्मीलाई हरायो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने संस्थाका सचिव डिबी नेपालीले बताए ।
