मित्रमिलन सहकारी ठगीः अध्यक्ष पौडेल र व्यवस्थापक अधिकारी पुर्पक्षका लागि थुनामा

-


     क्लिक गण्डकी     
     पौष २३ गते २०८० मा प्रकाशित


मित्रमिलन सहकारी

मित्रमिलन सहकारी

पोखरा, २३ पुस/ सहकारी ठगी अभियोगमा जिल्ला अदालत कास्कीले मित्रमिलन सहकारी संस्थाका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

उनीहरु दुवै जना यसअघि नै चेक अनादर मुद्दामा कास्की कारागारमै थिए । कास्की जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर थापाको इजलासले आइतबार थुनामा राख्ने आदेश दिएको हो ।

बिहीबार र शुक्रबार बयानपछि आइतबार थुनछेक बहस भएको थियो । पोखरा नयाँबजारमा प्रधान कार्यालय रहेको मित्रमिलन सहकारी ठगी प्रकरणमा झण्डै ३१ करोड रकम बिगो माग दाबी र कैद सजायका लागि जाहेरी परेको थियो ।

सहकारी शाखा बिस्तारबारे घूस प्रकरणमा पूर्व रजिष्ट्रार एवं कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

मित्रमिलन सहकारी ठगी अभियोगमा ३३ जना प्रतिवादीविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ । प्रतिवेदनमा ३ हजार ४ सय ४६ जना पीडितको ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो । अझै २७ जना फरार छन् ।