मित्रमिलन सहकारी
पोखरा, १७ पुस/ पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउमा जिल्ला अदालत कास्कील ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
कुश्मा प्रमुख प्रशासकीय अधिकृत रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
न्यायधीश ऋषिराज आचार्यको इजलाशले सहकारी ठगी प्रकरणमा जोडिएका पराजुली सहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
पराजुलीले राजिस्ट्रार हुदाँ मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप छ । उनी पुस ११ गते कुश्मा नगरपालिकाको कार्यकक्षबाटै पक्राउ परेका थिए ।
स्याङ्जाका बुद्धिसागर पौडेल मंसिर २९ र नुवाकोटका गोपाल खनाललाई प्रहरीले मंसिर २८ गते पक्राउ गरेको थियो । त्यसअघि नै पोखरा २५ का राजु बराललाई पक्राउ गरेको थियो ।
कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धकले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।
मित्रमिलन सहकारी प्रकरणमै पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
मित्रमिलन सहकारीले ३ हजार ४ सय ४६ बचतकर्ताको ३१ करोड ७८ लाख माग दाबीसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । सहकारीका ७ सय १४ जनाले २० करोड ५० लाख ठगिएको आरोप लगाएका छन् ।