मेजर दिलबहादुर गुरुङ
रवीन्द्र माकाजू
म प्रायः पोखरा–८, बगालेटोल निवासी मेजर दिलबहादुर गुरुङलाई भेट्न जाँदा जहिले पनि परिवारबाट एउटै उत्तर आउँछ– मेजर साहेब गाउँमा जानुभएको छ । ८४ बर्ष टेकेका मेजर गाउँमा किन जानु हुन्छ भन्ने प्रश्नमा उनी भन्दछन्– किनकिन गाउँमा आउँदा बेग्लै आनन्दको अनुभव हुन्छ । जहाँ मेरो बाल्यकाल वित्यो । म जन्मेको गाउँ गलेम अत्यन्त दुर्गम मानिन्थ्यो तर अहिले गाउँसम्म मोटरबाटो पुगेको छ ।
सर्केटारी गलेम पञ्चासे ग्रामीण सडक उपभोक्ता समितिको अध्यक्षका नाताले जबसम्म यो बाटो पुरा हुन्न, तबसम्म गाउँमा नै गईरहन्छु । मेजर साहेबले सहर्ष आफ्नो मनको कुरा पोख्दै भने– कास्की, स्याङ्जा र पर्वत जिल्लाको संगमस्थल पञ्चासे पर्यटकीय दृष्टिले मात्र नभई धार्मिक, सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण छ ।
करिब ८० मिटर देखि २५१७ मिटर सम्मको उचाईमा रहेको पञ्चासेधाम पुग्ने यो छोटो बाटो भएकाले हामी बाटो निर्माणमा जुटेका छौं । हरेक विकास निर्माण कार्यमा विदेशीको मात्रै भर पर्नु पक्कै राम्रो होइन भन्दै मेजर साहेबले भने– शुरुका दिनमा मान्छेले हाम्रो सपनालाई खेलाची ठाने तर सम्पूर्ण गाउँले यसका लागि एक ढिक्का भएर भिर बाटो बनाएपछि असंभव भन्ने केही रहेन ।
यो बाटो निर्माणका लागि गण्डकी प्रदेश सरकारले मात्र साथ दिएन, गाउँपालिका र सम्बन्धित माननीय सदस्यहरुले समेत सहयोग गरे । होस्टेमा हैसे गरे । अनि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गलेम भिरखण्डको उद्घाटन गरेको दिन मेजर दिलबहादुर गुरुङका लागि खुसीको सिमा नै भएन ।
करिब दुई करोडको लगानीमा भीर ट्र्याकको उद्घाटनका दिन उपभोक्ता समितिका अध्यक्ष मेजर दिलवहादुर मात्र खुशी भएनन् सम्पूर्ण ग्रामवासी हर्षले विभोर भए । गाउँमा नाचगान चल्यो । गाउँलेको अथक मेहनत र परिश्रमका कारण डरलाग्दो भीर फोरेर बाटो वनाउन सफल भएकोमा तत्कालीन मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आश्चर्यचकित हुँदै भने– अब तपाईंहरूको साथमा प्रदेश सरकार पनि हुनेछ । बाँकी काम प्रदेश सरकारले जिम्मा लिनेछ । तपाईहरुले चन्दा उठाउन पर्दैन ।
सिद्धार्थ राजमार्ग अन्तर्गत फेदीखोला गाउँपालिका– १ सर्केटारीबाट २०५४ सालमा खन्न सुरु गरिएको सडकमार्ग अन्तर्गतको गलेम भिर मात्रै २ हजार ६ सय मिटर लामो । सर्केटारीबाट पञ्चासे पुग्न १७ किलोमिटरको दूरी छ । यो ट्रयाक खुलेपछि क्रमशः वाटोको स्तरोन्नति गरेर सार्वजनिक सवारी साधन चलाउने योजना रहेको अध्यक्ष दिलबहादुर बताउँछन् ।
अहिले सर्केटारीबाट एक किलोमिटर बाटो ढलान हुँदैछ, अध्यक्ष गुरुङले बताए– अहिले बाटो खुलेपनि सवारी साधन नियमित रुपमा भने चल्न सकेको छैन । अझै पनि भिरको बाटो खन्ने कार्य र घुम्ती चक्लाउने कार्यमा हामी लागि परेका छौं ।
हेर्दै डर लाग्ने ठाडो भीर । ठाडै उकालो । उपभोक्ता समितिले बाटो बनाएको भन्दा सबै छक्क पर्ने बताउँदै अध्यक्ष गुरुङले भने– निरन्तर रुपमा समिति लागिप¥यौँ र यो सम्भव हुन सक्यो । गाउँमा मोटरबाटो नपुग्नाले धेरै मान्छे शहर झरे । अहिले गाउँ रित्तो छ तर मेजर साहेब मान्छे एक दिन गाउँ फर्कनेमा आशावादी छन् ।
यसअघि मेजर गुरुङले शीतला मा.वि.को भवन बनाउँदा सर्केटारीबाट भरिया बोकाएर करिब १० किलोमिटरको दुरीबाट सामान ल्याएका ५० दिन बिर्सन सकेका छैनन् । साह्रै कठिन र दुर्गम अवस्थाका ती पुराना दिन सम्झँदै उनी भन्छन् –अब गाउँलेका दिन फिरेको छ । अहिले हामी भीरको ईलाकामा राम्रो पार्क निर्माणमा पनि जुटेका छौं ।
गाउँलेलाई आधुनिक प्रविधिबाट खेती गर्न सिकाउनु छ । गाउँको विद्यालय स्तरीय शिक्षा दिन सक्षम छ । पर्यटकलाई गाउँमा तान्ने योजना बनाउनु छ । गलेम रापु गुरुङ समितिले अमेरिकाको एउटा आदिवासी, जनजाति संस्थासँग भगिनी सम्बन्ध गाँस्ने प्रक्रिया सुरु भएको छ । उनीहरुले आधुनिक कृषि प्रणाली, इन्टरनेट सञ्चालन जस्ता क्षेत्रमा सहयोग गर्ने वचनबद्धता प्रकट गरेको अध्यक्ष गुरुङले जानकारी गराए ।
गलेमको शीतला माध्यमिक विद्यालय व्यवस्थापन समितिमा उनी अध्यक्ष भएर सेवा गरेको पनि २४ वर्ष पूरा भएको छ । उनको शैक्षिक एवं सामाजिक सेवाको कदर स्वरुप सम्माननीय राष्ट्रपतिले हालै उनलाई प्रबल जनसेवा पदकबाट सम्मान गरिने घोषणा समेत भएको छ ।
उनी इटालीको रोमबाट सन् २०१८ नोभेम्भर २९ का दिन अन्तर्राष्ट्रिय स्तरको भोलिन्टियर अवार्ड प्राप्त गरेर झनै चर्चित बनेका थिए । जुन पुरस्कार पहिलो पटक एशियाको तर्फबाट उनले हात पारे । सो पुरस्कार प्राप्त भएपछि करिब दुई दर्जन सङ्घ, संस्थाले बधाई ज्ञापन गर्नुका साथै अभिनन्दन पत्र प्रदान गरेका थिए मेजर दिलबहादुरलाई ।
मेजर गुरुङले धेरै मुलुक घुमेता पनि पोखरा जत्तिको सुन्दर शहर अन्त कतै नदेखेको बताउँछन् । विशेष गरी फेवाताल, बेगनास ताल, माछापुच्छ्रे हिमाल र यहाँका प्रमुख मठमन्दिरले पोखराको महिमा बढाएको धारणा व्यक्त गर्दछन् । यसकारण यस मन्दिर क्षेत्रले धार्मिक महत्वको साथसाथै पर्यटकिय महत्वलाई बढवा दिएको छ । यसर्थ समग्र पोख्रेलीहरुले फेवाताललाई जीवन मरणको रुपमा लिएर ताल बचाउनुपर्ने धारणा व्यक्त गर्दछन् ।
मेजर साहब लाहुरे जीवनका बेला गाउँघर, पाखा पखेरा घुमिरहन्थे । बुढापाकाका कुरा सुन्थे । समाजका पीडालाई नजिकबाट हेरेका मेजर सापबाट गाउँलेहरू धेरै आशा राख्दथे । उनी अक्सर सुन्थे– मेजर दिलबहादुर गाउँमा आए यहाँको विद्यालय, बाटोघाटो, खानेपानी जस्ता समस्या समाधान हुन्थ्यो होला । यसै क्रममा उनले आफू जन्मेको गाउँ स्याङ्जाको फेदीखोला–४, गलेमको शितला माध्यमिक विद्यालयको मुहार फेरिदिए । लाग्छ अहिले कुनै शहरको भन्दा उक्त विद्यालयको अवस्था कमजोर छैन र स्थानीय जीवनशैली माथि उठेको छ ।
पिता बखतवहादुर र आमा गौरा (कन्याकुमारी) गुरुङको कोखबाट वि.सं. १९९६ श्रावण ३२ गते गलेम, आरुखर्क स्याङ्जामा जन्मिएका थिए– मेजर दिलबहादुर । १४ वर्षकै कलिलो उमेरमा सन् १९५३ मा अध्ययनका निम्ति फूपाजु क्या. सुनार गुरुङ्गका साथ हङकङ पुगेका दिलबहादुर अध्ययनकै दौरान १७ वर्षको उमेरमा सन् २ जनवरी १९५७ मा ब्रिटिश सैन्य सेवामा भर्ना भई नौ महिना रिक्रूट तालिम पछि मलेशिया जोहोरबारुमा २।२ गोर्खा राइफलमा नियुक्त भए ।
उनले हङ्गकङ्ग र मलेसियामा पढ्ने अवसर पाए । त्यस समयमा मेलशियामा कम्युनिष्ट टेरोरिष्टसँग गृहयुद्ध भइरहेको थियो । त्यस इमर्जेन्सीमा सन् १९६३ देखि १९६५ सम्म इन्डोनेशियासँग कन्फ्रन्टेसनमा सहभागी लिए । कन्फ्रन्टेसनमा राम्रो काम गरेकोले उनलाई स्पेशल प्रमोशन दिइयो ।
नोकरीको दौरान आफ्नो यौग्यता, दक्षता, ईमान्दारिता र वफादारिताका कारण उनी सन् १९६८ मा लेफ्टेनन् दर्जामा र सन् १९७१ मा क्याप्टेनको दर्जामा पदोन्नति भए । सन् १९८१ मार्चदेखि १९८२ मार्चसम्म बेलायतकी हजुर महारानी द्वित्तिय एलिजाबेथको क्वीन गोर्खा ओर्बुली अफिसर ADC को जिम्मेवारी पनि सम्हाले । फलतः उनलाई हजूर महारानीबाट MVO (रोयल मेम्बर अफ दी भिक्टोरिया अर्डर) पदवि बक्स भयो ।
सन् १९८२ अक्टुबरमा मेजर पदमा पदोन्नति भए। सन् १९८२ देखि १९८५ सम्म गोर्खा मेजरको जिम्मेवारी सम्हाले । आफ्नो तीन वर्षको कार्यकाल सफलतापूर्वक गरे वापत उनलाई हनरी मेजरको पदबाट सम्मानित गरियो । १ जनवरी १९८६ मा २९ वर्ष नोकरी गरेर मेजर साहेब पेन्सनमा पोखरा आए ।