मर्न सजिलो तर बाँच्न गाह्रो !

-


     क्लिक गण्डकी     
     पौष ३ गते २०८० मा प्रकाशित


प्रकाश घिमिरे

प्रकाश घिमिरे

रवीन्द्र माकाजू
सिने अभिनेता एवं नाटककार प्रकाश घिमिरे (पोखरा ३) अहिले मृत्युशैयाबाट तङ्ग्रेर अभिनय जगतमा पुनः फर्किएका छन् । वरीष्ठ कलाकार हरिवंश आचार्य बेलायत, अमेरिका आदि देशमा जानुपर्ने भएकाले प्रकाश घिमिरे सकि नसकी महाजात्रा सिनेमाका लागि सुटिङ भ्याएर पोखरा फर्किएका छन् ।

अभिनेता घिमिरे गएको कार्तिक १० गते घाँस काट्ने क्रममा नराम्ररी दुर्घटनामा परे । करीब ७५/८० मिटर तल खोल्सोमा खसे । उनलाई यो घटना धेरै दिन पछि मात्र थाहा भयो । उनी दुर्घटनामा परेर नराम्ररी घाइते भएको समाचार सामाजिक सञ्जालमा हुरी सरी सल्कियो ।

अधिकांश पोखरेलीहरुले उनको दीघार्युको कामना गरे । पोखरा महानगरका मेयर धनराज आचार्य तत्कालै अस्पताल पुगे । आफन्त, शुभेच्छुक, संस्कृतिकर्मी, कलाकारहरू उनको हालचाल जान्न अस्पताल परिसर नै पुगे । सबैको चासोको विषय बन्यो उनको स्वास्थ्य अवस्था ।

घिमिरेले त्यसदिनको वृतान्त बताउँदै भने – म त्यस दिन मर्निङ वाकका लागि भलाम पनि पुगेको थिएँ । त्यहाँबाट मूलको पानी ल्याएँ पनि । पछि नास्ता गरिसकेपछि गोठबाट आँसी, नाम्लो, डोको बोकेर घाँस काट्न गएँ ।

धेरै दिन पछि मलाई थाहा भयो म अस्पतालको बेडमा परेको । शरीरका सबै अङ्गमा भयानक पीडा र दर्द थियो । म रुन्थँे कराउँथे, चिच्याउँथे । औषधीले राहत दिएपछि गीत गाउँथे । मान्छेहरू मलाई देखेर मुस्कुराउँथे । पछि मान्छे चिन्न थालँे । पछि छोरी ज्वाई आएर मलाई ढाडस दिए । त्यसबेला मलाई थप उपचारका लागि काठमाडौं लाने तयारी पनि गरेका रहेछन् । तर पे्रसर साह्रै कम भएका कारण छोरी डा। रेखा शर्मा र ज्वाइ डाक्टर कृष्णनन्दन शाहको सल्लाह अनुरूप थप उपचार पोखरा मै नै गर्ने सल्लाह भएछ ।

म सबैको सद्भाव र परमात्माको असीम कृपा स्वरूप ठिक हुन पाएँ । मेयर साप र अस्पताल सञ्चालक आनन्द बतास, कृष्णमोहन श्रेष्ठ लगायतका मित्रहरुका कारण आवश्यक स्वास्थ्य सुविधा मलाई प्राप्त भयो । पोखरा महानगरबाट पनि सक्दो सहयोग गर्ने अफर आयो । साथीभाइ सबैले सहयोग गर्ने ईच्छा व्यक्त गरेका रहेछन् मेरा परिवारसँग । तर मेरा छोरीहरुले नै उपचार खर्च व्यहोरे, घिमिरेले ती पुराना दिन सम्झदै भने ।

घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष पनि हुन् । उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य पनि भएका थिए । सूर्योदय क्लबका संस्थापक अध्यक्ष घिमिरेले कन्या स्कुलमा करिब ३७ वर्ष पढाए । घिमिरेले छक्का पञ्जा, छ माया छपक्कै जस्ता करीब ५० फिल्ममा अभिनय गरेका घिमिरेले थुपै्र नाटक मञ्चन गरेका छन् । उनी त्यसदिनको दर्दनाक घटनालाई सम्झदै भन्छन्– वास्तवमा जीवन भनेकै नाटक रहेछ ।

घिमिरेले भने– मलाई थाहा थिएन जीवन यस्तो पनि हुन्छ भनेर । नाटकमा जीवनलाई विभिन्न रूपमा देखेको थिएँ तर वास्तविक जीवनमा यस्तो भोग्नुपर्छ भन्ने सोचेको थिइँन । मलाई अस्पतालको त्यस घटनाले के स्मरण गरायो भने मर्न सजिलो रहेछ तर बाँच्न गाह्रो । म ७ दिन सम्म बेहोशीमा बाँचेछु मलाई त्यसबेला असीम आनन्दको अनुभूति भयो । जब होसमा आएँ तब थाहा पाएँ जीवन भनेको पीडा र विवशता रहेछ । किनकी चेतनशीलता भनेको कठिन विषय रहेछ । यही घटनाले जीवनको यथार्थतालाई नगिजबाट चिन्ने र जान्ने मौका पाएँ ।

विसं २०१९ साल असोज २३ गते गिद्ध एकादशीका दिन जन्मिएका घिमिरे आफूलाई सबैका सद्भाव मिलेकोले भाग्यमानीका रूपमा सम्झन्छन् । मेरो दीघार्युका लागि मेरा मित्रहरु दिपेश खत्री, रवीन्द्र बानिया जस्ता कलाकारले बौद्ध लामा पद्धति अनुसार दीर्घायुको कामना पनि गरेका रहेछन् । मलाई यसबाट के लाग्छ भने म परमात्माको कृपा स्वरूप बाँच्न पाएको हुँ । यो नाफाको जिन्दगीलाई मैले सत्कर्मका लागि, समाजका लागि नै खर्चनु पर्दछ ।



Tags: