प्रिन्सिपल रुपेशको हत्याः कारण प्रेम सम्बन्ध

-


     क्लिक गण्डकी     
     कार्तिक १४ गते २०८० मा प्रकाशित


रूपेश स्वर्णकार

रूपेश स्वर्णकार

जनकपुरधाम, १४ कात्तिक/ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाराले रूपेशका पूर्वप्रेमिका सहित ६ जनालाई पक्राउ गरेको छ ।

उनीहरूमाथि सोधपुछ गर्दा हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले बताएको छ । मदरसा टोलमै बसोबास गर्ने युवती रहेकी छन् । पक्राउ परेका अर्का व्यक्ति भारतीय नागरिक मनोज गुप्ता रहेका छन् । युवती स्कुलकी पूर्वलेखापाल हुन् । उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । प्रिन्सिपल स्वर्णकार विवाहित हुन् । उनका दुई छोरा छन् ।

केही समयअघि स्वर्णकार र युवतीबीचको प्रेम सम्बन्ध बाहिरिएको थियो । प्रिन्सिपल स्वर्णकार र युवतीको सम्बन्ध बाहिरिए पछि मनोजकै जोडबलमा जागिर छाडेकी थिइन् । मनोजले युवतीलाई पिछा छाड्न भनेका थिए । तर प्रिन्सिपल स्वर्णकार नमानेको भन्दै उनीहरूकै योजनामा हत्या भएको खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रेम सम्बन्ध एक कारण देखिए पनि अरू पनि कारण हुन सक्ने प्रहरीको भनाई छ । घटनामा संलग्न रहेका केही व्यक्तिलाई पक्राउ गर्न बाँकी रहेको प्रहरीले बताएको छ । एक प्रहरी अधिकृतका अनुसार हत्या गर्न भारतीय सुटरहरू प्रयोग गरिएको आशंका छ ।

अनुसन्धानकै क्रममा प्रिन्सिपल स्वर्णकारको यसअघि पनि हत्याको प्रयास भएको पनि खुलेको छ । प्रारम्भिक बयानका क्रममा उनीहरूले गत साउनमा स्वर्णकारको हत्या प्रयास गरे बताएका छन् । त्यतिबेला स्वर्णकारले भागेर ज्यान जोगाएका थिए ।

सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकार माथि गोली प्रहार गरेका थिए । उपचारका लागि अस्पताल लगेपनि उनको मृत्यु भएको थियो ।



Tags: