पोखराको विन्ध्यवासिनी मन्दिरमा इन्टरनेटबाट पूजा, पुजारीलाई मासिक तलब

-


     क्लिक गण्डकी     
     असाेज २५ गते २०८० मा प्रकाशित


विन्ध्यवासिनी मन्दिर

विन्ध्यवासिनी मन्दिर

पोखरा, २५ असोज/ पोखराको विन्ध्यवासिनी मन्दिरमा इन्टरनेटबाट पूजाको तयारी गरिएको छ । भेटी र दान घटेपछि आम्दानी बढाउन मन्दिरले इन्टरनेट पूजाको तयारी गरेको हो ।

कोरोना कालमा पनि इन्टरनेटबाट पूजा गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र समितिका सचिव तीर्थ श्रेष्ठले बताए । उनले विदेशबाट पुजा गर्नका लागि अनुरोध गर्दै आएको बताउदै इन्टरनेटबाट गर्ने बारेमा छलफल भएको बताए ।

२०७३ सालबाट मन्दिरको भेटी समितिले लिन थालेको हो । यसअघि पुजारीले लिँदै आएका भेटी व्यवस्थापन समितिले लिनेर पुजारीहरुलाई तलब दिने गरेको उनले बताए । अहिले दैनिक ४० हजार देखी ६० हजार हाराहारीमा भेटी संकलन हुने गरेको श्रेष्ठले जानकारी दिए ।

उनले कोराना भन्दा पहिले दैनिक १ लाख बढि भेटि संकलन हुने गरेको बताए । मन्दिरमा पुजारी अहिले तलबमा राखिएको छ । १४ जना पुजारी कार्यरत रहेकोमा उनीहरूलाई २० हजारदेखि ४५ हजारसम्म तलब दिइएको श्रेष्ठले बताए ।

उनले मन्दिरका कर्मचारी र व्यवस्थापन खर्च मासिक १५ लाख खर्च र चिकित्सालयमा थप ८ लाख खर्च हुने गरेको बताए । त्यसको सञ्चालनको प्रमुख आम्दानी दान पात्र र भेटी भएको उनको भनाई छ । श्रेष्ठले अहिले भेटी संकलन झण्डै ५० प्रतिशतले घट्दा सबै व्यवस्थापन गर्न कठिन हुने गरेको बताए ।

२०४३ मा गठन भएर २०४८ मा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको मातहतमा पोखरा वडा नं.१८ मा २६ रोपनी, वडा नं.१ मा २१ रोपनी १२ आना र वडा नं.१३ मा ५ रोपनी जग्गा रहेको छ ।

समितिले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय, जेष्ठ नागरिक मिलन केन्द्र, गुरुकुल, एमबुलेन्स सेवा लगाएत सञ्चालन गर्दै आएको छ ।



Tags: