
सुवास नेम्वाङ
पोखरा, २६ भदौ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी समेत रहेको भन्दै नेम्वाङको स्मरण गरेका छन् ।
निधनको खबर लगत्तै अस्पताल पुगेका ओलीले मंगलबार बिहान श्रद्धाञ्जली वक्तव्य दिँदै लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ सम्झिइरहने बताए ।
अध्यक्ष ओलीले मृदुभाषी र शालीन साथी सुवास नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
पार्टीको राजनीतिमा सधैँ ओलीलाई साथ दिएका नेम्वाङको निधनप्रति उनले गहिरो दुःख व्यक्त गरेका छन् ।
मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
श्रद्धाञ्जली सुवासजी !





