
पोखरा अन्तराष्ट्रि विमानस्थल भुटानको ड्रुक एयरको व्यवसायीक उडान
पोखरा, २३ भदौ/ भुटानको ड्रुक एयर पोखरा अन्तराष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान गरेको छ । चार्टर उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने रकम तिरेकाले पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान भएको पोखरा विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले जानकारी दिए । उनले नेपाल नगारिक उड्यन प्राधिकरणको नियम अनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रूपैया र ग्राउन्ड ह्याण्डलिङको शुल्क ड्रुक एयरले तिरेको कर्णले बताए ।
भुटानको पारो विमानस्थलबाट शनिबार बिहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ः४० मा ल्यान्ड भएको थियो । १५० सिट क्षमता भएको जहाजमा जम्मा भुटानबाट ३ जना यात्रु आएका थिए भने फर्किदा ४२ जना फर्किएका थिए । भुटानबाट नेपाल आएका यात्रुहरुमा नेपाली, अमेरिकी र भियतनामी १/१ जना थिए । पोखराबाट भुटान जानेहरुमा अमेरिकी, क्यानेडियन र भारतीय पर्यटक रहेको उनले बताए । ड्रुक एयरका पाइलट भुटानको वरिष्ठ पाइलट भएको र जहाज ल्याण्डिङ गर्दा उत्कृष्ट लागेको प्रतिक्रिया दिएको कर्णले बताए ।
पोखराबाट भुटान जाने पर्यटक नेपालमा चार दिन पहिले आएका थिए । अमेरिकन पर्यटकहरु हेलिकप्टरमा घुम्ने, महँगा होटल, रिसोर्टमा बस्ने र साहसिक गतिविधिमा भाग लिने गरेका थिए । नेपालमा प्याकेज बनाएको ट्राभल एजेन्सीका अनुसार चार्टर्ड जहाजमा फर्किएका पर्यटकले दिनमै ७÷८ सय डलरसम्म खर्च गरेका थिए । उनीहरुले चार दिनमा नेपालमा मात्रै करिब साढे २ करोड रुपैया खर्च गरेका ट्राभल एजेन्सी प्रतिनिधि हेमन्तराज कोलाक्षपतिले जानकारी दिए ।
नेपालका विभिन्न ठाउँमा महँगो शुल्क तिरेर पैसा खर्च गरेर फर्किएपछि यस्तै खचार्लु पर्यटक चार्टर्ड जहाजमै भए पनि पोखरा भित्र्याउन सक्ने हो भने अर्थतन्त्र समेत चलायमान हुनसक्ने व्यवसायीको विश्वास छ । भुटानबाट पोखरा आएका पर्यटकलाई पोखरा पर्यटन परिषदले एयरपोर्टमा स्वागत गरेको थियो भने जानेलाई विदाई गरेका थिए । पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको सुरूवात नेपाल एयरलायन्सले गर्नुपर्ने परिषदको अध्यक्ष पोमनारण श्रेष्ठले बताए ।
विमानस्थलमा आउने र जाने पर्यटकलाई गण्डकी प्रदेशका पर्यटनमन्त्री दिपेन्द्रबहादुर थापा, पोखराका मेयर धनराज आचार्य, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ लगायत पर्यटन व्यवसायीहरुले स्वागत र बिदाइ गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यो दोस्रो चार्टर्ड उडान हो । गत असार ६ गते बुधबार पहिलो पटक चीनको छेन्दुक शहरबाट सिचुवान एयरलाइन्सको एयरबस–३१९ विमानस्थलमा अवतरण गरेको थियो ।





