
पोखरामा वर्षा, कतै घर पहिरोमा, कतै पुल धरापमा
पोखरा, ३२ साउन/ पोखरा हिजो साँझ परेको वर्षाका कारण ठाउँमा ठाउँमा क्षति भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २३ ठुलाखेतमा पहिरो जाँदा घर र गोठ तथा वडा नम्बर २५ मा सुईखेत सेरामा पुल र बाटोमा क्षति पुगेको छ ।
ठुलाखेतको घुम्तीमा रहेको विष्णुप्रसाद पौडेलको डाँडाको घरको दुई वटा कोठा र गोठ पहिरोमा बगेको छ । घरको तलबाट पहिरो जादाँ घरका दुई वटा कोठा भत्किएका हुन् । राति करिब ११ पानी परेका बेला पहिरो गएको विष्णुप्रसाद पौडेलले बताए ।
उनले एउटा बेड रुप हो भने अर्को एउटा किचन कोठा बगाएको बताए । पहिरोका कारण बेड रुपमा भएका दराज, खाट र किचनमा भएका सबै भाँडा पहिरोमा परेको बताए । उनले पहिरो जानुमा ठुलाखेतबाट घाटिछिना जाने सडक बनाउने क्रममा माथीको जमिन काटेका कारण गएको बताए ।
त्यसै गरी पोखरा २३ हर्पनमा कर्णबहादुर भट्टराईको गोठ पहिराले पुरेको छ । त्यसै गरी पोखरा २५ सुईखेत सेरामा रहेको पुल र मोटर बाटोमा क्षति पुगेको पोखरा २५ का वडा अध्यक्ष मोती तिमिल्सिनाले जानकारी दिए ।





