
पोखरामा बर्षाः कतै घर बग्यो, कतै सडक भासियो, कतै डुवान
पोखरा, १४ साउन/ पोखरामा शनिबार राति परेको अविरल वर्षाले विभिन्न ठाउँमा प्रभाव पारेको छ । पोखरामा विगत २४ घण्टामा १ सय ६७ मिलिलिटर पानी परेको छ ।
वर्षाका कराण पोखरा १८ मिरुवामा २ घरमा क्षति पुगेको छ । स्थानीय माइकुमारी हमाल र सुन्दरश्याम अधिकारीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
अधिकारीको घरमा पूर्ण क्षति पुगेको छ । उनीहरुलाई राति नै सुरक्षित ठाउँमा स्थानान्तरण गरिसकिएको छ । घरमा पहिरोमा परेर अधिकारी र हमाल सामान्य घाइते भएका छन् । त्यसै गरी शनिबार राति विजयपुर खोलामा ४ जना फसेकालाई राति नै उद्धार गरेका छन् । सत्रस्त्र प्रहरी बलको टोलीले उनीहरुको उद्धार गरेको पोखरा १३ का अध्यक्ष किरण बरालले जानकारी दिए ।
त्यसै गरी निरन्तर वर्षा भएपछि जमिन गलेर पोखरा १६ डाँडाथोक मार्गमा सडक भासिएको छ । सडक भासिँदा ३ वटा घर जोखिममा परेका छन् । भासिएको सडक टिप्परले माटो ल्याएर पुरेको छ । खोला र नदीहरु बढेपछि पोखराको रामघाट ताल भएको छ ।





