पौडीबाट एशियाडका लागि ४ खेलाडी छनौट

-


     क्लिक गण्डकी     
     जेठ २४ गते २०८० मा प्रकाशित


पौडीमा तेश्रो दिन राष्ट्रिय कीर्तिमानको ओइरो

पोखरा, २४ जेठ/ नेपाल पौडी संघले मित्र राष्ट्र चीनको ग्वाङ्गझाउ सहरमा आयोजना हुने १९ औं एशियन गेम्सका लागि चार खेलाडी छनौट गरेको छ ।

संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार नेपाल पौडी संघले आयोजना गरेको ११ औं एनएसए कप पौडी प्रतियोगिताबाट दुई पुरुष र दुई महिला गरि चार खेलाडी १९ औं एशियन गेम्सका लागि खेलाडीले प्राप्त गरेको उच्च फिना अंकका आधारमा छनोट गरिएको बताए ।

छनोट हुने खेलाडीहरुमा पुरुष तर्फ एलेक्जेण्डर गादेगार्ड शाह (Alexander Gadegaard Shah) र नासिर याह्या हुसेन (Nasir Yahya Hussain) तथा महिला तर्फ गौरिका सिंह (Gaurika Singh) र डुवाना लामा (Duana Lama) रहेका छन् । एलेक्सले ६९२ फिना अंक प्राप्त गरेका थिए । यस्तै नासिरले ६६४ अंक, गौरिका र डुवानाले समान ५८६ अंक प्राप्त गरेका थिए ।

बैकल्पिक खेलाडीमा पुरुष तर्फ विकास कुमाल र महिला तर्फ अनुशिया तण्डुकार रहेका छन् । कुमालले ६०६ फिना अंक र अनुशियाले ५२८ अंक प्राप्त गरेका थिए । अध्यक्ष बज्राचार्यका अनुसार यी चार खेलाडीले जापानको फुकुओकामा असार २९ देखि हुन गईरहेको पेरिस ओलम्पिक २०२४ को छनोट प्रतियोगिता समेत रहेको वल्र्ड अक्वाटिक च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्नेछन् ।

लक्ष्मण र सुदीपलाई स्वर्ण

लक्ष्मण खनाल र सुदीप राजभण्डारी मास्टर्स तर्फ स्वर्ण जित्न सफल भएका छन् । ११ औं एनएसए कप पौडी प्रतियोगितामाको मास्टर्स ५० मिटर बटरफ्लाईमा लक्ष्मणले स्वर्ण जितेका हुन् ।

दोश्रो स्थानमा सेनाका बाबुराम श्रेष्ठ र तेश्रो स्थानमा प्रमोद श्रेष्ठ रहे । यस्तै मास्टर्स खुला तर्फ सुदीप राजभण्डारीले स्वर्ण प्राप्त गर्दा श्याम गुरुङ्गले रजत र किसिम लाल थारुले कास्य पाए ।



Tags: