
कामीरिता शेर्पा
पोखरा, ३ जेठ/ प्रख्यात नेपाली पर्वतारोही कामीरिता शेर्पाले कीर्तिमानी २७ औं पटक सगरमाथाको (८८४८.८६ मिटर) सफल आरोहण गरेका छन् ।
मंगलबार कीर्तिमानी आरोही कामीरिता शेर्पा २७ औं पटक सगरमाचाको चुचुरो चुमेर र फर्किएका छन् । आफ्नै विश्व रेकर्ड तोडेदै शेर्पाले मंगलबार बिहान ८ बजेर ३० मिनेटमा २७ औँ पटक सगरमाथाको शिखरमा पुगेको सरकारी प्रतिनिधि खिमलाल गौतमले जानकारी दिए ।
कामिरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरी नयाँ विश्व रेकर्ड बनाएका छन् । सोलुखुम्बुका शेर्पाले अघिल्लो वर्ष २६ औं पटक हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेका थिए ।
सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामीरिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान छ । उनले १६ मे २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए । शेर्पा सेभेन समिट ट्रेकका सिनियर गाइड हुन् ।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका शेर्पाको ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।
कामीरितापछि विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो स्थानमा उनकै जिल्लावासी पासाङ दावा शेर्पा छन् । पासाङ दावाले पनि २६ औ पटक सगरमाथाको चुचुरोमा पुगिसकेका छन् । उनले केही दिनअघि मात्र कामीरिताको कीर्तिमानीसँग बराबरी गरेका थिए ।





