
प्रतिभा माविद्वारा खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कृत
पोखरा, २२ चैत/ पोखराको नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयले वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरेको खेलकुद प्रतियोगिताका उत्कृष्ट खेलाडी र खेल समूहलाई मंगलबार शिल्ड र प्रमाणपत्र प्रदान गरेको छ । पोखरा–४ पालिखेचोकस्थित विद्यालयमा आयोजित कार्यक्रममा प्रतियोगितामा उत्कृष्ट टिम र खेलाडीलाई शिल्ड र प्रमाणपत्र प्रदान गरेको हो ।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार गत मंसिर अन्तिम साता विद्यालयमा तीनदिने खेल प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीबीच आन्तरिक रुपमा अन्तरसदनात्मक टिम बनाएर प्रतिश्पर्धा गराइएको थियो । बास्केटबल, फुटसल, भलिवल, टेवलटेनिस, चेस र ब्याडमिन्टनका खेल आयोजना गरिएको थियो ।
सबैगरि ३४ वटा टिमले उक्त खेल प्रतियोगितामा भाग लिएका थिए । छात्रा र छात्रका विभिन्न टिम खेलमा प्रतिश्पर्धा गरेका थिए । ‘विद्यार्थीलाई खेलकुदका गतिविधिमा सहभागि गराउँदा उनीहरुको क्षमता पनि प्रस्फुटन हुन्छ । त्यसबाहेक खेल क्षेत्रमा लाग्नका लागि पनि विद्यार्थीलाई प्रेरणा मिल्छ,’ प्राचार्य सापकोटाले भने, ‘आगामि दिनमा पनि यस्तै गतिविधिले निरन्तरता पाउनेछन् ।’
विद्यालयस्तरमा हुने खेलकुदका यस्ता प्रतियोगिताबाट खेलाडी पहिचान गर्ने अवसर मिल्ने उनले बताए । विद्यालयमा खेलकुदका यस्ता गतिविधि हुँदा लुकेर रहेको प्रतिभा बाहिर आउने उनले बताए ।





