
पाटा शिखर सम्मेलन तथा एडभेन्चर ट्राभल मार्ट पोखरामा हुने
पोखरा, ८ चैत/ प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर ट्राभल मार्ट नेपालमा हुने भएको छ । आगामी मे २९ देखि जुन २ सम्म सम्मेलन तथा मार्ट पोखरामा आयोजनामा हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
नेपाल सरकार र नेपाल पर्यटन बोर्ड र पाटाको आयोजनामा हुने कार्यक्रममा पोखरामा संयोजन पोखरा पर्यटन परिषदले र अन्तर्राष्ट्रिय संयोजन पाटा इन्टरनेशनलले गर्ने आयोजक सस्था नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए ।
शिखर सम्मेलनमा १५ देशका गन्तव्य प्रमुखहरू सम्मिलित पाटा कार्यकारी बोर्ड सदस्यहरूको सहभागिता रहने छ भने एडभेन्चर ट्राभल मार्टमा विश्वभरका करिब ३ सय बढि अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको सहभागिता रहने उनले बताए । अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्याति प्राप्त वक्ताहरुले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटन लगायतका विषयमा विज्ञहरु, व्यवसायीहरु संचारकर्मीहरु माझ छलफल तथा प्रस्तुतिकरण हुने उनले बताए । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनका लागि पनि टेवा पुग्ने बताए ।
कार्यक्रममा नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर सिर्जना गर्ने, अवसर प्रदान गर्दै २ दिनसम्म विशेष व्यापार–व्यवसाय सत्र सञ्चालन हुने पाटाका सचिब सुमन पाण्डेले बताए । कार्यक्रममा कार्यशाला र विटुवि (Business to Business) मार्टका साथै पाटाको कार्यकारी बोर्ड र बोर्ड बैठक तथा वार्षिक साधारण सभा हुने उनले बताए । नेपालले पहिलो पटक आयोजना गर्न पाएको यो कार्यक्रमले नेपाल र विशेष गरी पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित बनाउने उनले बताए ।
नेपालले आयोजना गर्ने यो अन्तर्राष्ट्रिय कार्यक्रममले पोखराको पर्यटक आगमनमा बृद्धि हुने अपेक्षा पोखराका महानगरपालिका मेयर धनराज आचार्यले गरे । पोखरालाई पर्यटकीय सहरका रुपमा घोषणा गरेर नेपालको पर्यटन विकासमा अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रम पछि लुम्बिनी, चितवन, बर्दिया, जोमसोम लगायतका अन्य गन्तव्यहरूमा पनि भ्रमण गराउने लक्ष्य छ । नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उडडयन मंत्रालयका सचिवको अध्यक्षतामा मुल आयोजक समिति गठन भइसकेको छ । नेपालले पाटा इन्टरनेशनलको सदस्यता सन् १९७५ मा लिएको हो । कोभिड १९ पछि उठ्दै गरेको नेपालको समग्र पर्यटन क्षेत्रलाई कार्यक्रमले प्रचार प्रसार गर्न कोशेढुंगाको रुपमा साबित हुने आयोजकको भनाई छ ।





