
विश्वेश्वर पराजुली
रवीन्द्र माकाजू
पोखराको जनप्रिय क्याम्पसको बैठक कक्षमा संरक्षक, संस्थापक एवं दानवीरहरूको लोभलाग्दा तस्विर सजाइएका छन् । तस्बिर हेर्दा लाग्छ बालिहाल्छन् कि जस्ता । तर धेरैलाई यो हेक्का हुँदैन यी चित्रहरु कोर्ने वरिष्ठ चित्रकार को होलान् ?
यो प्रश्नको सही उत्तर हो – पोखरा ७ मासबार निवासी पूर्व शिक्षक विश्वेशवर पराजुली । हालको पोखरा २३ चापाकोटमा वि.स. २००९ साल जेठमा जन्मिएका कलाकार पराजुली पेशेवर कलाकार होइनन् ।
उनको कलायात्रा कसरी शुरु भयो भन्ने प्रश्नमा भन्दछन् – वि.संं. २०३१ साल तिर पोखराबाट प्रकाशित भएको “प्रणय” साहित्यिक पत्रिकामा प्रसिद्ध नाटककार बालकृष्ण समको कलाकार दुर्गा बराल (वात्सायन) का बारेमा लेखिएको लेखले मेरो मन छोयो । जुन लेखमा कलाकार बराललाई माता सरस्वतीका वरद पुत्र भनिएको थियो ।
उक्त लेख पढेपछि पराजुलीलाई कलाकार दुर्गा बराललाई भेट्ने उत्सुकता जाग्यो । पराजुली बजार आएर दुर्गा बरालका बारे खोजी नीति गर्दा मोहरियाटोल ईगलआई आर्ट ग्यालरीमा भेटे । बराल अत्यन्त सरल र सहयोगी भएकोमा पराजुली तिन छक परे । आफूलाई कलाकारिताको पाठ पढाउन आग्रह गर्दै पराजुलीले आफूले कोरेको चित्रहरु देखाए । बरालले पराजुलीका कमी कमजोरी औल्याउँदै कलाकारिताका बारेमा धेरै ज्ञान दिए । पराजुली फुरुङ्ग भए । झनै हौसिए ।
वरिष्ठ कलाकार बराललाई गुरु मान्ने पराजुली आफूलाई शौखिन कलाकार भन्न रुचाउँछन् । उनी भन्दछन् – म पेशेवर कलाकार होइन, मलाई चिन्ने जान्नेहरूले चित्र बनाइदेऊ भने मात्र चित्र कोर्ने गर्छु । सामूहिक कला प्रदर्शनीमा साथीहरुले मलाई सम्झन्छन् र सहभागी हुने गरेको छु । यसैमा म सन्तुष्ट छु ।
विश्वेश्वरको बाल्यकाल चापाकोट मै बित्यो । उनले नियमनिधि पौडेलसँग काठको पाटीमा कखरा सिके । पोखरा मालेपाटन स्थित बाराही स्कुलबाट एस.एल.सी पास गरे । पृथ्वीनारायण क्याम्पसबाट आई.ए र बि.ए पास गरे । उनी शुरुमा चापाकोटकै मकन्यादेवी स्कुलमा मास्टर भए । त्यसपछि पन्चकोसी निम्न माध्यमिक विद्यालय र जन्मभूमि निमाविमा पढाए । त्यस लगत्तै घान्दु्रकको मेसमबराह स्कुलमा मास्टर बन्न पुगे ।
अनि छोरेपाटन माध्यमिक विद्यालयमा केही वर्ष पढाए । ०४३ सालमा उनी बाराही स्कुलमा सरुवा भए । त्यहाँ ५ वर्ष पढाएपछि पुनः छोरेपाटन स्कुलमा आए । उनी ०५६ सालमा रिटायर्ड भै पेन्सनमा बसे । यस अघि उनले शिक्षक तथा हेडमास्टरहरूलाई विद्यालय व्यवस्थापन सम्बन्धि तालिम दिने गर्दथे । शिक्षकका नाताले नेपाल टे«ड युनियन काँगे्रसमा आवद्ध हुन पुगे । उनी ०५० बाट ०५९ सम्म टे«ड युनियन कास्कीमा अध्यक्ष बने भने क्षेत्रीय सचिवका रूपमा ४ वर्ष सेवा गरे ।
पराजुलीले करिब २८ वर्ष विभिन्न विद्यालयमा मास्टरी गरेता पनि उनी निष्क्रिय भएर बस्न चाहेनन् । उनको शैक्षिक योग्यताको कदर गर्दै डिज्निलेन्ड एकेडेमीका संस्थापकहरुले विद्यालयको प्राचार्य बन्न गरेको आग्रहलाई सहर्ष स्वीकारे । हाल उनी उक्त विद्यालय सञ्चालक समितिका अध्यक्ष छन् । पराजुलीले देशविदेशका तीर्थयात्रा गर्ने सौभाग्य प्राप्त गरेका छन् । उनी एमनेष्टी इन्टरनेशनल समुह ८२ कास्कीमा संस्थापक सचिव हुन् भने पछि संयोजक पनि भए । पराजुली हाल पोखरा ७ मासबारमा बसोबास गर्दछन् ।
जीवनलाई खोलासँग तुलना गर्ने कलाकार एवं शिक्षापे्रमी पराजुलीको व्यक्तित्व सरल एवं मिलनसार देखिन्छ । उनी सुखमा न धेरै हर्षित हुन्छन् न दुःखमा विचलित नै । उनको जीवनमा सबैभन्दा खुसी त्यसबेला लाग्यो जब उनका दुई नातिनीले एकैपटक सिए पास गरे ।
पराजुलीले आफ्ना भाई डा. मोति पराजुलीसँग मिलेर आफ्ना बाबुआमाको स्मृतिमा ३ लाखको स्मृति कोष स्थापना गरेका छन् । शिक्षापे्रमी पराजुलीले शिक्षा कार्यालयबाट दीर्घसेवा पदक प्राप्त गरेका छन् । अनि विभिन्न निकायबाट मान र सम्मानपत्र पनि । वि.सं. ०२१ सालमा शारदा लम्सालसँग वैवाहिक सम्बन्ध भएको थियो भने पराजुली दम्पतिका ३ छोरा र १ छोरी छन् । जो उच्च शिक्षा र संस्कारले सुसज्जित छन् ।





