
यती विमान दुर्घटनाः खतराको संकेत देखीपछि प्रशिक्षक केसीलाई कमान्ड
पोखरा, ३ फागुन/ माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार विमानको बायाँतर्फको सीट (जुन मुख्य कमान्ड दिने ठाउँ हो) मा क्याप्टेन अञ्जु खतिवडा बसेकी थिइन् । प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेका थिए । दायाँतर्फ सामान्यतया को–पाइलट बस्ने गर्छन् ।
’खतराको संकेत प्राप्त भएपछि १०ः५७ः१८ बजे विमानको नियन्त्रण पीएफ (अञ्जु खतिवडा)ले पीएम (कमल केसी)लाई सुम्पेकी थिइन्,’ प्रतिवेदनमा भनिएको छ । त्यसक्रममा खतिवडाले इञ्जिनमा पावर नरहेको कुरा बताएको समेत प्रतिवेदनमा उल्लेख छ । एयर ट्राफिक कन्ट्रोलर(एटीसी)ले अवतरणका लागि धावनमार्ग ३० उपलब्ध गराएका थिए, तर उडानको अन्तिम चरणतिर चालक दलले धावन मार्ग १२ मागेको प्रतिवेदनमा उल्लेख छ ।
पाइलटले मागेपछि एटीसीले १२ मा अवतरण गर्न अनुमति दिएका थिए । बिहान १०ः ५१ मा धावनमार्गको उत्तरतर्फ १२ बाट अवतरण गर्न प्रयास भएको थियो । प्रतिवेदनअनुसार १० ः५६ मा पाइलटहरूले विमानको पंखा १५ डिग्रीको पोजिसनमा राखेका थिए । र, धावनमार्गमा ल्याउनका लागि ल्यान्डिङ गियर समेत खोलेका थिए ।
विमान उडाइरहेकी खतिवडाले विमानलाई देब्रेतर्फ नै निरन्तर लगिरहने हो कि होइन भन्ने सोध्दा प्रशिक्षक केसीले निरन्तरता दिन निर्देशन दिएको पनि प्रतिवेदनमा उल्लेख छ । त्यसपछि खतिवडाले विमान तल लग्ने कि नलग्ने भन्ने सोध्दा त्यो आवश्यक नरहेको भन्दै केसीले अलिकति बढी पावर लगाउन निर्देशन दिएका थिए ।
त्यसपछि अन्तिम सेकेन्डमा खतिवडाले विमानको सम्पूर्ण कमान्ड प्रशिक्षक केसीलाई सुम्पिएकी थिइन् । तर, दुर्भाग्य! केसीले पनि दुर्घटना टार्न सकेनन् । ’दुर्घटनाका क्रममा विमानको दुवै इञ्जिन प्रोपेलर फेदरमा गएको देखिन्छ, त्यो किन भयो भनेर अनुसन्धान जारी नै छ,’ आयोगका सदस्य सिनियर इन्जिनीयर एकराज जंग थापाले भने ।
पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजत्वमा गठित ५ सदस्यीय जाँचबुझ आयोगले दुर्घटनाअघि विमानको ’कमान्ड’ परिवर्तन भएको विवरण खुलाएर बुधवार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो । दुर्घटनामा परी चालक दलका ४ सदस्यसहित ७२ जनाको निधन भएको थियो ।
साभार लोकन्तर डटकमबाट https://lokaantar.com/story/214339/2023/2/15/main-news/yeti-plane-crash?fbclid=IwAR1-2QKhvm4txUurpK6BwI-JzmIALEzSVyUSXaVkNvwbX5d1R6Op3EaKn9s





