
‘जनसेवक हुँ, जनताको घरआँगन पुगिरहने छु’–पहारी
पोखरा, १७ मंसिर/ संघिय तथा प्रदेश निर्वाचनका नतिजाहरु लगभग आइसकेका छन् । धेरै स्थानका नतिजा सार्वजनिक भएसंगै अब कस्तो सरकार बन्ला भन्नेतर्फ आम नागरिकको जिज्ञासा बढ्दै गएको छ ।
निर्वाचनमा विजयी बनेका उमेदवारहरु विजय जुलुससंगै पुनःधन्यवाद ज्ञापन गर्नका लागि मतदाताको घर टोलमा पुग्न थालका छन् । तर निर्वाचनमा पराजित भएका एक उमेदवार पराजयका बावजुद मतदातालाई भेटन गाउँ फर्किएका छन् । उनी हुन्–गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव पहारी ।
पहारी शुक्रबार पोखरा–२४, गुण्टेचौर पुगे । त्यहाँका अग्रज बुवाआमासंग भेटघाट गरे । भेटका क्रममा गुण्टेचौरका स्थानियहरुले उनीप्रति सहानुभुती प्रकट गरे । पहारीले भने आँफु सधै जनताको सेवक बनेर जनताकै साथमा रहन चाहेको सुनाए ।
‘हिंजो मैले जितेको थिएं, आफुले सक्दो विकास कार्यमा लागें, आज पराजित भएको छु, तर पनि तपाईहरुको साथ छाड्ने छैन’–भेटमा पहारीले भने । पहारीले यसो भनिरहँदा उनीहरुले अब बन्ने सरकार तथा जनप्रतिनिधीहरुले जनअपेक्षा अनुसार काम गरेनन् भने उनीहरुलाई दवाव दिनुपर्ने खाँचो औंल्याएका थिए ।
पहारीले उनीहरु सामु जनआवाज बोल्न आफु कहिल्यै पछि नपर्ने प्रतिवद्धता जनाउँदै फर्किए । आउँदा दिनमा पनि जनतासंगको भेटघाट पातलो हुन नदिने पहारीले बताए । ‘म जनसेवक हुँ, जनताको सेवा मेरो पहिलो कर्म हुने छ, मेरो स्वभाव यस्तै हो’–पहारीले भने ।





