सुदीप गौतम
पोखरा, १५ असोज/ पर्यटकीय गन्तव्य मर्दी पदयात्रालाई चिनाउने पर्यटन व्यवसायी ३५ बर्षिय सुदीप गौतमको भीरबाट लडेर मृत्यु भएको छ ।
मर्दी पदयात्राको हाइक्याम्पमा शुक्रबार साँझ ६ बजे पानीको पाइप मर्मत गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गौतमले हाइक्याम्पमा होटल सञ्चालन गर्दै आएका थिए ।
गौतम भीरबाट अन्दाजी ५१ मीटर तल खसेको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । होटल व्यवसायी अर्को एक जना साथीसँग गौतम पानी मर्मत गर्न गएका थिए । गौतमको टाउकोमा चोट लागेको थियो ।
घटना लगत्तै स्थानीयले उद्धार गरेर ल्याए पनि उनको बाटोमा नै मृत्यु भएको अध्यक्ष क्षेत्रीले बताए । गौतमको शवलाई शनिबार विहान हेलिकप्टरबाट पोखरा ल्याइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम पछि अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
सफल पर्यटन व्यवसायी गौतमले मर्दी हिमाल पदयात्राको प्रचार प्रसार र प्रवद्र्धनमा ठूलो भूमिका खेलेका थिए । गौतम मर्दी हिमाल पर्यटन पदमार्ग व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत हुन् । गौतमको परिवारमा बुबा, आमा, श्रीमति एक छोरी र एक छोरा छन् ।