बेगनास र रुपा ताल
पोखरा, ५ असोज/ नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना पोखरामा निर्माण हुने प्रक्रिया अगाडी बढेको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा महानगरपालिमा ३१ मा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्न सरोकारवाला सगँ छलफल गरेको छ ।
पोखराको बेगनास तालबाट पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी रुपा तालमा जाने र पुनः बिजुलीकै सहयताले बेगनास तालमा नै जाने छ । पोखराका लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रुपा तालमा खसालेर करिब १५० मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ ।
विद्युतको अत्याधिक माग हुने साँझको समयमा करिब ४ घण्टा विद्युत उत्पादन गर्न योजना अगाडी बढाएको नेपाल विद्युत प्राधिकरणका बातावरण विज्ञ प्रकाश गौडेलले बताए । बेगनास र रुपा तालबीचमा रहेको अग्लो प्राकृतिक बाँधलाई प्रयोग गरेर आयोजना निर्माण गरिने प्राधिकरणको लक्ष्य छ । रुपा तालमा जम्मा भएको पानीलाई रातको समयमा पम्प गरी पुनः बेगनास तालमै खसालिने गौडेलले बताए ।
रुपा तालमा खसालिएको पानी पुनः बेगनासमा फर्काइने भएकाले त्यसले दुबै तालको हालको प्राकृतिक अवस्था, सौन्दर्य तथा जैविक अवस्थितिलाई कुनै प्रभाव नपार्ने प्राधिकरणको विश्वास छ । विद्युत् उत्पादनपछि रुपाको पानी बेगनासमा फर्काउने कार्यका लागि पम्प चलाउन करिब १ सय २५ मेगावाट विद्युत् आवश्यक पर्नेछ । रातको समयमा उल्लेख्य मात्रामा विद्युत् उपलब्ध हुने भएकाले त्यसमा कुनै समस्या नहुने प्राधिकरण इन्जिनियिरीङ विभागका डेपुटि म्यानेजर रामजी भण्डारीले बताए ।
नेपालका लागि पम्प स्टोरेज जलविद्युत् बिल्कुलै नयाँ प्रविधि हो । यो आयोजना सम्पन्न गर्न करीब २० अर्बको लगानी लाग्ने प्राधिकरणको अनुमान छ । माथी डाडाँबाट ६८ मिटर हेड मार्फत पानी झारे विद्युत उत्पादन गर्ने छ । सरकारले नेपाल विद्युत प्राधिकरणलाई ‘पम्प स्टोरेज’ जलाशय जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र (लाइसेन्स) दिइसकोे छ । आयोजनाबाट उत्पादन हुने बिजुली ४ किलोमिटर दूरीको २२० केभी लेखनाथ सबस्टेसनमा जोडिने छ ।