नवौं राष्ट्रिय खेलकुद
पोखरा, २३ साउन/ राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ्गले गण्डकी प्रदेशमा हुने नवौंं राष्ट्रिय खेलकुद निर्धारित मिति नै हुने बताएका छन् । पोखरा रंगशालामा सोमबार आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव घिसिङ्गले नवौं खेलकुदको मिति बारम्बार परिर्वनत भएपनि यसपटम तोकिएकै मितिमै हुने बताए ।
उनले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै नवौं खेलकुद निर्धारित मितिमा नहुने शंका बढे पनि असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म कै मितिमा हुने बताए । उनले निर्वाचनले प्रतियोगितालाई र प्रतियोगिताले निर्वाचनलाई कुनै अप्ठेरो नपार्ने बताए ।
उनले प्रदेश तथा विभागीय टिमले भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गतेसम्म नाम दर्ता गराई सक्नुपर्ने बताए । प्रतियोगितामा २ खेलको प्रर्दशनी समेत हुनेछ । ७ प्रदेशसहित ३ विभागीय टिम र एनआरएनए गरी ११ टिमले प्रतियोगितामा सहभागिता जनाउने उनले बताए । प्रत्येक टिमबाट ३ सय ३९ महिला र ३ सय ६९ पुरुष खेलाडीको कोटा निर्धारण गरिएको उनको भनाई छ ।
प्रतियोगितामा ३६ खेलमा ४ सय ७ इभेन्ट समावेश गरिएको छ । पुरुषतर्फ २ सय २० र महिलातर्फ १ सय ८७ इभेन्ट समावेश छन् । प्रत्येक इभेन्टमा ४ भन्दा कम प्रतिस्पर्धी भएमा सो इभेन्ट सञ्चालन नगरिने सदस्य सचिव घिसिङले बताए । हरेक खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार र टिम इभेन्टमा स्वर्ण पदक जित्ने खेलाडीले १५ हजार प्राप्त गर्ने छन् ।
खेलकुदमा राष्ट्रिय रेकर्ड भंग गरी नयाँ रेकर्ड बनाउने खेलाडीलाई जनही ५० हजार प्रदान गर्ने व्यवस्था यस पटकाबाट गरेको बताए । प्रतियोगिताको विजेता टोलीलाई १० लाख रुपैयाँको आकर्षक ट्रफी प्रदान गर्ने भन्दै अहिले ट्रफी निमार्णको काम भइरहेको बताए । ट्रफी ३ विभागीय टिम र सबै प्रदेश भ्रमण गराई छ ।
प्रतियोगिताका खेल गण्डकी प्रदेशको सबै जिल्लामा हुने छन् । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले प्रत्येक जिल्लामा कम्तीमा १ खेल गर्ने गरी प्रस्ताव राष्ट्रिय खेलकुद परिषदलाई प्रस्ताव पठाएको छ । राखेपले खेलमैदानको निरीक्षण गरी कहाँ कुन खेल गराउने निर्णय गर्नेछ । यसअघि दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० सालमा पोखरामा भएको थियो ।