पोखरामा २२ बुँदे माग राख्दै राप्रपाको चक्काजाम
पोखरा, १४ साउन/ राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखराको पृथ्वीचोकमा चक्काजाम गरेर विरोध प्रदर्शन गरेको छ । नागरिकता विधेयक, एमसीसी, संघीयता खारेजी लगायतका २२ बुँदे माग सहित राप्रपाले १० मिनेट चक्काजाम गरी सरकारको ध्यानाकर्षण गराएको हो ।
प्रदर्शनसँगै पृथ्वीचोकमा १० मिनेट चक्काजाम आयोजना गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागु गर्न आन्दोलनमा उत्रनुपरेको प्रवक्ता गिरीले जानकारी दिए ।
सर्वसाधारणलाई दुख दिन नभई आफुहरुले उठाएको माग बुझाउन र सरकारलाई दबाब दिन सांकेतिक रुपमा चक्काजाम गरेको उनले बताए । चक्काजाम अघि आयोजित कोणसभामा बोल्दै राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले नागरिकता विधेयक खारेजी नभए नेपालको राष्ट्रियतामा खतरा पर्ने दाबी गरे ।
यस्तै, राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले राष्ट्रिय एकता कायम राख्नुपर्ने बताए । नागरिकता विधेयक, एमसीसी लगायतका कारण नेपालको अस्तित्व खतरामा पर्दै गरेको बताए । कार्यक्रममा केन्द्रिय सदस्यहरु जयलाल पुन, महेन्द्र बहादुर कार्की, प्रदेश सचिव बरुणविक्रम राणा, विजयबहादुर भणडरी लगायतले मन्तव्य राखेका थिए ।