पोखरा महानगरमा एक वर्षमा चिया खाजामा साढे २ करोड खर्च

-


     क्लिक गण्डकी     
     श्रावण ४ गते २०७९ मा प्रकाशित


पोखरा महानगरपालिका

पोखरा महानगरपालिका

पोखरा, ४ साउन/ पोखरा महानगरपालिकामा एक वर्षमा चिया खाजामा साढे २ करोडको खर्च भएको छ ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार चिया, खाना, खाजा तथा विविध खर्च शीर्षकमा २ करोड ४० लाख १५ हजार भुक्तानी भएको देखीएको छ । खर्चको विल मात्रै आएको र खर्च केमा भएको भन्ने नखुलेको भन्दै महालेखा परीक्षकले यस्तो खर्चमा मितव्ययिता अपनाउन भनेको छ ।

यस्तै, अनुगमन तथा भ्रमण खर्च समेत अनियमित रूपमा प्रयोग गरेको पाइएको छ । भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण गरेपछि त्यसको अभिलेख राख्नुपर्नेमा अभिलेख विना चालू खर्च शीर्षकबाट अनुगमन, भ्रमण, विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण आदि शीर्षकमा ४६ लाख ८४ हजार रुपैयाँ खर्च लेखेको छ ।

यता, मेयर र उपमेयरले दोहोरो यातायात सुविधा लिएको देखिएको छ । गण्डकी प्रदेशसभाले निर्माण गरेको स्थानीय तहका मेयर र उपमेयरले पाउने सुविधामा यातायात सुविधा उल्लेख छ ।

गाडी नभएको अवस्थामा १५ हजार रुपैयाँ दुवैले यातायात खर्च पाउँछन् । तर गाडी हुनेलाई उक्त सुविधा छैन । तर पोखराका मेयर र उपमेयरले महानगरको गाडी चढेर मासिक १५ हजार यातायात खर्च समेत बुझेका हुन् । महालेखाले दुवै जनासँग १ लाख ८० हजारका दरले ३ लाख ६० हजार असुल गर्न निर्देशन दिएको छ ।



Tags: