पोखरामा असार २४ र २५ गते ‘इक्यान फेयर’ हुने
पोखरा, २१ असार/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले असारको २४ र २५ गते ‘सातौं इक्यान कास्की एजुकेशनल फेयर’ को तयारी अन्तिमचरणमा पुगको बताएको छ ।
मेलामा प्याभेलीयनबाट वैदेशिक अध्ययन परामर्शका लागी नेपाली विद्यार्थीहरुलाई विभिन्न कलेज तथा विश्व विद्यालयको भर्ना प्रक्रिया साथै सम्वन्धित देशको विद्यार्थी भिसा नीति, अवसर, चुनौती सम्वन्धी परामर्श निःशुल्क रुपमा दिइने इक्यान फेयरका संयोजक युवराज पौडेलले जानकारी दिए ।
विश्व अहिले ग्लोबल भिलेजको रुपमा विकास भईरहेको छ । विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणालीका बारेमा सहि सूचना दिईनु पर्छ भन्ने संघको मान्यता रहेको इक्यान कास्कीका अध्यक्ष इविन्द्रराज तिवारीले बताए ।
विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीले जानु अघि पर्याप्त मात्रामा जाने ठाउँको बारेमा, प्राप्त गर्ने शिक्षा, छात्रबृत्ति, सेवा सुविधा तथा वस्तुस्थितिको बारेमा जान्नु पर्ने तिवारीले बताए ।
गण्डकी प्रदेशको ठूलो शैक्षिक मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु रहनेछन् । अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, जापान, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, दक्षिण कोरीया र भारत लगायतका देशका कलेज, विश्वविद्यालयका आधिकारीक प्रतिनिधिको उपस्थिति हुने भएको छ ।
दुईदिने मेलामा शैक्षिक परामर्शको क्षेत्रमा लामो समय खर्चिएका अनुभवि परामर्शदाताहरुका ४० स्टल रहने मेलाका संंयोजक तथा इक्यान कास्कीका कोषाध्यक्ष युवराज पौडेलले जानकारी दिए । पोखरामा ३ सयको हाराहारीमा कन्सल्टेन्सी रहेका छन् ।
पौडेलले मेलामा रहने ति स्टलबाट विद्यार्थीले जानका चाहेको देशको विद्यार्थी भिषा नीति, चूनौती र आवश्यक प्रभावकारी सूचनाहरुको परामर्श निःशुल्क पाउने बताए ।
मेलाको टाईटल स्पोन्सरमा इन्टररनेशनल कलेज अफ एप्लाईड साईन्स (आईकास) रहेको छ । एसोसिएट स्पोन्सरमा र्यान फोर्ड कलेज, अष्ट्रेलियाले सहयोग गरेको छ । मुख्य प्रायोजनमा आइईडियू ग्रुप अष्ट्रेलिया रहेको छ । पत्रकार सम्मेलनमा आइकासका प्रबन्ध निर्देशक समिर थापा, कमल बराल, सस्थाका सचिब सन्तोष शाही लगायतले शैक्षिक मेलाका बारेमा जानकारी दिएका थिए ।