पोखरा विमानस्थल
पोखरा, १४ असार/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने कास्कीको रिठ्ठेपानी डाँडा कटानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र वन विभागबीच सहमति भएको छ ।
करिब ६ सय वटा रुख कटानका लागि सहमति भएको प्राधिरणका प्रवक्ता जगन्नाथ निरौलले जानकारी दिए । प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाएको थियो ।
प्रतिवेदन अनुसार रिठ्ठेपानी डाँडा कटान गर्दा ६ सय वटा रुख र पोल आकारका रुख काट्नु पर्ने छ । निर्माणाधीन विमानस्थलको पूर्वी सिमानाबाट करिब १.३५ किलोमिटर दूरीमा यो डाँडा छ ।
प्रतिवेदन अनुसार यो डाँडालाई १२ देखि ४० मिटरसम्म कटान गर्नुपर्नेछ । यसरी कटान हुने डाँडामा रहेको २.१७६ हेक्टर वनमा रहेको रुखहरु काटिने छन् ।
विमानस्थल आयोजना भने अहिले धमाधम बनिरहेको छ । विमानस्थलको भौतिक प्रगति ९७ प्रतिशत पुगिसकेको छ ।