पोखराको पाँचतारे ‘फूलबारी रिसोर्ट’ लिलामीमा

-


     क्लिक गण्डकी     
     असार ३ गते २०७९ मा प्रकाशित


फूलबारी रिसोर्ट

फूलबारी रिसोर्ट

पोखरा, ३ असार/ ऋण लिएर पैसा तिर्न नसकेपछि पोखरामा रहेको पाँचतारे डिलक्स होटल दि फूलबारी लिलामीमा बढेको छ । नेपाल बैंकले होटल तथा होटलले चर्चेको र लिखित तमसुक गरेको जग्गा बिक्री गरेर ऋण असुली गर्ने प्रक्रिया अघि बढाएको छ । सहवित्तीयकरण कर्जाअन्तर्गत नेपाल बैंकको अगुवा अन्य बैंकहरुको पनि लागनी रहेको छ ।

बैंकले जग्गा भवन लगायत चलअचल सम्पत्ति लिलामी गर्नका लागि ३५ दिने सूचना प्रकाशित गरेको छ । इच्छुक लगानीकर्ताले ३५ दिनभित्र शिलबन्दी बोलपत्र पेस गर्न बैंकले अनुरोधसमेत गरेको छ । धेरै पटक प्रयास गर्दा पनि ऋण नतिरेकाले लिलामीको प्रक्रिया अघि बढाएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले बताए ।

होटलले नेपाल बैंकका साथै तत्कालीन नेपाल औद्योगिक विकास निगम ( हाल राष्ट्रिय वाणिज्य बैंक) र कर्मचारी सञ्चय कोषबाट लिएको ऋण र सोको सावाँ र ब्याज गरी ३ अर्ब ५० करोड रुपैयाँ तिर्न बाँकी छ । होटलका सञ्चालक पीयुषबहादुर अमात्यले कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सम्झौताको सर्तहरुसमेत पालना नगरेकाले होटल लिलामी गर्नुपरेको अधिकारीले बताए ।

बैंकले पोखरा महानगरपालिका–१५ मा रहेको होटल तथा होटलले चर्चेको १२४ रोपनी जग्गा, सञ्चालक पीयुषबहादुर अमात्यको नाममा रहेको ६ रोपनी र गंगा अमात्यको नाममा रहेको ७ रोपनी ७ आना जग्गा लिलामी गरेर ऋण असुली गर्ने बैंकले जनाएको छ । साउन ४ गतेभित्र शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने बैंकले जनाएको छ । रिसोर्ट ४ सय रोपनी जग्गामा फैलिएको छ । रिसोर्टमा १ सय ६५ कोठाहरु छन् ।

२०५३ सालमा नेपाल बैंकको अगुवाइमा एनआईडीसी र सञ्चय कोषले रिसोर्टमा १ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी गरेका थिए । नेपाल बैंकले ६५ करोड, एनआईडीसीले ३५ करोड रुपैयाँको ऋण लगानी गरेका थिए । बाँकी रकम सञ्चय कोषले लगानी गरेको थियो ।

नेपाल बैंकले २०५७ सालदेखि पटक पटक ऋण तिर्ने र लिलामी गर्ने सूचना दैनिक पत्रिकाहरुमा प्रकाशित गर्दै आएको छ । बैंकले लिलामीको प्रक्रिया अघि बढाएपछि पीयुषबहादुर अमात्यले बैंकलाई लिखत गरेको होटल तथा रिसोर्टले चर्चेको, आफ्नो स्वामित्व र श्रीमती गंगा अमात्यको नाममा रहेको जग्गा बेच्न लागि परेका छन् । अहिले उनको सबै सम्पत्ति १२ अर्बमा बेच्न खोजिरहेको जानकारी पाएको सीईओ अधिकारले बताए । होटल अहिले बन्द छ ।



Tags: ,