‘वातावारण जोगाऔं, विकास पनि गरौं’
पोखरा, २३ जेठ/ देशैभर धेरै संघ, संस्थाले वर्षमा लाखौं विरुवा रोप्छन् । ती विरुवामध्ये आधा पनि हुर्किदैनन् । विश्व वातावरण दिवसको अवसरमा आइतबार पोखरामा भएको कार्यक्रमका वक्ताहरुले यसबारे गम्भीर चिन्ता व्यक्त गरे ।
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयले संयुक्त रुपमा गरेको कार्यक्रमका वक्ताहरुले सामाजिक सञ्जाल भर्नमात्र गरिने कार्यक्रमले उपलब्धि नहुने टिप्पणी गरे । कृषि विज्ञ डा अनिल सुवेदीले संरक्षण नगर्ने भए वृक्षारोपण गर्दासमेत २ पटक सोच्न आग्रह गरे ।
उनले भने, ‘अब हामीले विरुवा रोप्दा २ पटक सोच्नुपर्ने बेला आएको छ । बिगारेको हामीले नै हो ।’ डा सुवेदीले कृषि उत्पादनमा पछिल्लो समय अत्यधिक रसायनिक पदार्थ प्रयोग गर्दा क्षणिक उत्पादन बढेको जस्तो देखिए पनि दीर्घकालीन असर पारिरहेको जनाए ।
वरिष्ठ अधिवक्ता तिलक पराजुलीले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा परेको बताए । यसका कारण नेपालका हिमनदी, ताल फुट्ने, बेमौसमी बाढी पहिरो, प्रकोपको समस्या बढिरहेको उनले औंल्याए ।
अधिवक्ता पराजुलीले नेपालजस्तो विकासोन्मुख देशमा विकास र वातावरण कसलाई महत्व दिने भन्नेबारे सधैं बहसको विषय हुने उल्लेख गरे । ‘हामीलाई विकास पनि चाहिएको छ, वातावरण पनि जोगाउनु छ,’ उनले भने ।
राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत खिमलाल सुवेदीले मानव अधिकार र वातावरण संरक्षण एकअर्काका परिपूरक रहेको बताए । नागरिक समाज कास्की संयोजक ईन्द्रकमल मानन्धरले वातावरण संरक्षणमा सबै स्वस्फूर्त रुपमा लाग्नुपर्नेमा जोड दिइन् ।
वातावरण विज्ञ कुलराज चालिसेले जनताको जीवनशैलीसँग वातावरण संरक्षणको मुद्दा पु¥याउन नसक्दा पृथ्वी विनास हुँदै गएको तर्क गरे । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले वातावरण संरक्षणका लागि सञ्चार जगतले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख चन्द्रकान्त चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल अध्यक्ष सुनिल पाण्डेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।