अन्नपूर्ण केबलकार
पोखरा, २१ जेठ/ पोखराको अन्नपूर्ण केबलकारले विद्यार्थी र नवविवाहित जोडीलाई टिकटमा विशेष छुट दिने भएको छ । पोखराको पर्यटकीय स्थल सेदीबाट फेवातालको दृश्यहरु हेर्दै सराङ्गकोटसम्मको यात्रा गराउने केबलकारको टिकटमा विद्यार्थी र नवविवाहित जोडीलाई विशेष छुट दिने कम्पनीले जनाएको छ ।
केबलकारका अनुसार प्लस टुको परीक्षामा सहभागी भएका विद्यार्थी र नवविवाहित जोडीका लागि टिकटमा विशेष छुटको व्यवस्था गरिएको छ । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ उर्जा प्रदान गर्दै उहाँहरुको केही समय भए पनि रमाइलो बनाउने उद्देश्यका साथ छुटको व्यवस्था गरिएको जनाइएको छ ।
भर्खरै प्लस टुको परीक्षामा सहभागी हुनुभएका छात्रछात्राहरुले अन्नपूर्ण केबलकारको भाडा दरमा ५० प्रतिशत छुट पाउनु हुनेछ । छुट पाउनका लागि लागि विद्यार्थी छात्रछात्राहरुले यस वर्ष परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्ने पनि केबलकारले जानकारी दिएको छ । यो योजना असार ३ गतेसम्म लागु हुने केबलकारले जनाएको छ ।
साथै, नवविवाहित जोडीका लागि पनि केबलकारले विशेष अफरको घोषणा गरेको छ । जस अन्तरगत केबलकारले १ टिकटको खरीदमा अर्को टिकट निःशुल्क प्रदान गर्नेछ । यो योजनामा सहभागी हुन नवविवाहित जोडीले आफ्नो विवाह कार्ड अनिवार्य देखाउनु पर्नेछ । यो योजना भने असार मसान्तसम्म लागु हुने केबलकारले जनाएको छ ।
पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार गतवर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । साहसिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृङ्खला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार निर्माण भएको छ ।
दुई हजार १६५ मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिन्छ । केवलकारमा ८ जनाको सिट क्षमता रहेका १७ वटा गण्डोला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गण्डोला जडान गरिएको छ ।
केवलकारको बटम स्टेसन समुन्द्री तहदेखि ८२४ मिटरको उचाइमा र टप स्टेसन १५२३ मिटर उचाइमा रहेको छ । केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा रहेका छन् ।