बैशाख २ गतेदेखि पोखरामा ९ ए साईड भेट्रान फुटबल प्रतियोगिता

-


     क्लिक गण्डकी     
     चैत्र २९ गते २०७८ मा प्रकाशित


बैशाख २ गतेदेखि पोखरामा ९ ए साईड भेट्रान फुटबल प्रतियोगिता

पोखरा, २९ चैत/ गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पोखरामा सर्वाधिक पुरस्कार राशीको नाईन ए साईड राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको तयारीमा जुटेको छ । बैशाख २ गतेदेखि पोखरा रंगशाला फुटबल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीलाई पुरा गरिसकेको छ ।

‘दैनिक एक घण्टा व्यायाम’ नारा दिइएको छ । नयाँ पिढीलाई खेलकुदमा सहभागिता गराउन उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीहरुलाई खेलकुदमा सक्रिय रुपमा जोड्ने उद्देश्यसहित मन्त्रालयले प्रथम राष्ट्रिय ९ ए साईड फुटबल प्रतियोगिता गर्ने निर्णय अनुसार आवश्यक तयारीलाई पूर्ण गरिएको प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले बताए ।

प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन सक्ने छन् । प्रत्येक टिममा ५० वर्षमाथिका दुई खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ । पोखराबाट ६, काठमाडौंबाट ८ टिमको सहभागिता रहने प्रतियोगितामा वालिङ, सिमरा, हेटौडाबाट समेत गरी १९ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । प्रतियोगितामा नेपालबाट विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलसकेका पूर्व राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले खेलकुदलाई बजेट छुट्टाउनुपर्नेमा जोड दिदैं खेलकुदमा गरिएको लगानीले प्रतिफल दिने बताए । ‘सरकारले खेलकुदमा लगानी गर्न पछि हट्नु हुन्न । खेलकुदमा लगानी गरेको प्रतिफल आउँछ भन्ने हेक्का नहुदाँ लगानी गर्न सरकार डराईरहेको छ ।’ उनले भने–‘प्रतियोगिता मार्फत सहभागि हुने खेलाडीले खेल पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउँछन् । जुन अप्रत्यक्ष देखिन्छ ।’

प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो पुरस्कार स्वरुप १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा दुई सेमिफाईनल पुग्ने टोलीले ३०/३० हजार नगद पाउने छन् । सर्वोकृष्ट खेलाडीले नगद २० हजार राशी पाउँदा गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले नगद १५÷१५ हजार रुपैयाँबाट पुरस्कृत हुने छन् । प्रतियोगिताको लागि ८ लाख ६० हजार खर्च हुने अनुमान गरिएको छ ।



Tags: