नबिल बैंकको सामाजिक उद्यमशीलताका लागि ला–ग्राण्डीमा आवेदन खुल्यो

-


     क्लिक गण्डकी     
     चैत्र २५ गते २०७८ मा प्रकाशित


नबिल बैंकको सामाजिक उद्यमशीलताका लागि ला–ग्राण्डीमा आवेदन खुल्यो

पोखरा, २५ चैत/ ला–ग्राण्डी इन्टरनेशनल कलेजमा सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सञ्चालन हुने भएको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रवर्दन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिन कार्यक्रम शुरु गरिएको कलेजले जनाएको छ ।

कार्यक्रम अन्तर्गत ३ महिना अवधिको प्रशिक्षण वर्षैभरि सञ्चालन गरिने बैंकले जनाएको छ । नबिल बैंकको सहकार्यमा सञ्चालन गरिने कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तीय सहयोग उपलब्ध गराइने बैंकले जनाएको छ ।

कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा कलेजसँग सहकार्य गरि वार्षिक ७ सय विद्यार्थीलाई सामाजिक उद्यमी बन्ने अवसर श्रृजना गर्ने लक्ष्य लिएको छ । शुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका कलेजहरुसँग सम्झौता गरेको जनाएको छ । जसमध्ये गण्डकीबाट ला–ग्राण्डी छनौट भएको हो । यो कार्यक्रमले वार्षिक ७ सय विद्यार्थीलाई सामाजिक उद्यमी बन्ने अवसर श्रृजना गर्ने लक्ष्य छ ।

१८ वर्ष पुगेका नेपाली वा अँग्रेजी वा दुवै भाषाको ज्ञान भएका हरके इच्छुक नेपाली नागरिक कार्यक्रममा सहभागी हुनसक्ने छन् । कोर्स पुरा गरेको व्यक्तिले उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल विकास गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम शुरुवात गर्न सक्ने अपेक्षा कार्यक्रमले लिएको छ । उनीहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, उर्जा र जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्ने छन् ।

सहभागीहरुले सामाजिक उद्यम संचालनको तरिकासंगै आधारभूत कानूनी तथा कर सम्बन्धीका ज्ञान पनि पाउने छन् । सहभागीहरुले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रबद्र्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय संचालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप पाउने छन् । लघुवित्त, संस्था व्यवस्थापन, परियोजना संचालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारीकरण जस्ता विषयलाई समेत तालिममा समावेश गरिएकाले यसबाट सयौं विद्यार्थीले लाभ लिनसक्ने छन् ।

सो कार्यक्रम निजी, सार्वजनिक, शैक्षिक संस्था र समुदाय वीचको रचनात्मक सामूहिकतालाई प्रबद्र्धन गर्ने प्रयास गरिएको, दीगो विकास लक्ष्य, नेपालको पन्ध्रौं आवधिक योजना लगायतका दस्तावेजले समेत प्राथमिकतामा राखेको समावेशी विकासलाई साकार पार्न यस्ता कार्यक्रमले सहयोग पुग्ने कार्यक्रमको दावी छ । सहभागी केही विद्यार्थीहरुका लागि विशेष छात्रवृत्तिको व्यवस्था समेत भएकाले आर्थिक अवस्था कमोजर भएका इच्छुकलाई यो कार्यक्रम उद्यमी बन्न सहयात्री हुने बैंकले अपेक्षा लिएको छ ।

इच्छुक व्यक्तिले नबिल बैंकको नजिकका शाखाहरु, लाग्राण्डी इन्टरन्ेशनल कलेज अथवा नबिल बैंकको website: www.nabilbank.com मा गई आवेदन दिन सक्ने बैंकले जनाएको छ ।



Tags: